झरीले बढ्यो बिजुली उत्पादन, चौबिस घण्टामा साढे २ सय मेगावाट भारत निर्यात

नेपालभ्युज

झरीले बढ्यो बिजुली उत्पादन, चौबिस घण्टामा साढे २ सय मेगावाट भारत निर्यात

काठमाडौं । केही दिनयता लगातार झरी परेसँगै नेपालको बिजुली उत्पादन बढेको छ । वर्षायाममा मात्र बढ्ने नेपालको बिजुली उत्पादन यसवर्ष सुख्खायाममा पनि लगातारको झरीका कारण बढेको हो ।

झरीले बिजुली उत्पादन बढाएसँगै पछिल्लो २४ घण्टामा २५० मेगावाट बिजुली भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको चार महिनामा विद्युत् प्राधिकरणले वर्षायाममा साढे १५ अर्बको बिजुली भारतलाई बेचेको छ । तर मङ्सिरलागे सँगै नदीको बहाव घट्न थाल्यो जसका कारण भारतले दैनिक ५५० मेगावाटसम्म आयात गरिरहेको छ ।

निरन्तर पानी पर्न थालेसँगै र दुई दिन (पहाडमा एक दिन र तराईमा दुई दिन) होलीको सार्वजनिक बिदा पनि पर्‍यो । यो अवधिमा पूर्वी क्षेत्रका आयोजनाबाट क्षमताको ४० प्रतिशतसम्म उत्पादन भयो । काबेली करिडोर र सोलु करिडोरको उत्पादन ४० प्रतिशतसम्म बढेको प्राधिकरणको भनाइ छ ।

काबेली करिडोरमा हालको जडित क्षमता २ सय मेगावाट छ । यो करिडोरबाट औसतमा १० प्रतिशतसम्मको उत्पादन आइरहेको थियो । मौसममा आएको बदलीसँगै पूर्वी क्षेत्रमा अत्यधिक पानी पर्दा उत्पादन क्षमता ४० प्रतिशत पुगेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोस बताउँछन् ।

उता सोलु करिडोरबाट ४० मेगावाटसम्म बिजुली उत्पादन भएको छ । यसबाहेक, सुख्खा याममा ६० मेगावाटमा झरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमता ८० मेगावाट पुगेको छ । बागमतीमा आधारित आयोजनाको क्षमता समेत औसतमा ४० प्रतिशतभन्दा धेरैले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved