विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआइआइबीलाई प्राधिकरणको आग्रह

नेपालभ्युज

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआइआइबीलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (AIIB) लाई आग्रह गरेको छ ।

एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ(kulman ghising)ले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरेका हुन् ।

नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठुलो लगानी आवश्यक रहेको बताए ।

‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूका लागि झन्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरूबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डलबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरूको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरू, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चितलगायतका विषयमा जिज्ञासा राखिएको थियो ।

नेपाल कोतर्फबाट एआइआइबी सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंककातर्फबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइनु पर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved