माओवादी नेताहरूको ‘सुन मोह’ !

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीका नेताहरू परेपनि नछाड्ने बताइरहँदा दोस्रो तहका नेता भटाभट सुन तस्करी प्रकरणमा जोडिइरहेका छन् ।

नेपालभ्युज

माओवादी नेताहरूको ‘सुन मोह’ !

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेतामाथि भटाभट सुन तस्करीको आरोप लागिरहेको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीका नेताहरू परेपनि नछाड्ने बताइरहँदा दोस्रो तहका नेता भटाभट सुन तस्करी प्रकरणमा जोडिइरहेका छन् । तस्करीमा नाम मुछिएका नेताहरू प्रधानमन्त्री प्रचण्डका विश्वासपात्रसमेत मानिन्छन् ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार मात्रै प्रहरी हिरासत पुगेका छन् । ६१ किलो र भेपमा लुकाएर भित्र्याएको ९ किलो सुन प्रकरणमा जोडिएका महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् । भनिन्छ, उनी भारत छिर्न खोजेका थिए । पछ्याउँदै गएको प्रहरी टोलीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको हो ।

त्यसो त महरा-पुत्र राहुल गत भदौ १३ गते नै प्रहरी हिरासत पुगिसकेका छन् । सोमबारदेखि बाबू-छोरा पुर्पक्षका लागि हिरासतमा सँगै बस्ने भएका छन् ।

भारत भाग्न लागेका थिए महरा, गाडी रोक्न नमानेपछि घेरा हालेर नियन्त्रणमा !

सुन तस्करीमा मुछिएका महराले चिनियाँ सुन तस्करसँग पटक-पटक टेलिफोन संवाद गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अध्ययनले देखाएको थियो ।

यस्तै अर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को नाम पनि सुन तस्करीसँग जोडिएको छ । चीनबाट सुन तस्करी गर्ने दावा छिरिङसँग उनको सम्पर्क भएको खुलिसकेको छ । तर, पुनले भने छिरिङसँग आफ्नो पारिवारक सम्बन्ध भएको बताउने गरेका छन् ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर गएको प्रष्टीकरण पुनले दिँदै आएका छन् ।

यसमा आफूलाई बिनाकारण तान्न खोजिएको उल्लेख गर्दै उनले आफूमाथि छानबिन गर्न भनेका छन् । “म सहयोग गर्न तयार छु । मलाई बिनाकारण यहाँ तान्न खोजिएको छ,” उनले भन्ने गरेका छन्, “समाज शुद्धीकरणको अभियान चलेको छ । यसलाई रोक्न हुन्न ।”

सुन तस्करी प्रकरण : छोरा पक्राउ परेको ७ महिनापछि बाबु पनि हिरासतमा

यसैगरी माओवादी पृष्ठभूमिबाटै दुई पटक उपराष्ट्रपनि बनेका नन्दबहादुर पुन ‘पासाङ’ र उनका छोराहरू पनि सुन प्रकरणमा जोडिएका छन् । माओवादीनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का उपाध्यक्षसमेत रहेका दिपेश त पक्राउसमेत परिसकेका छन् । उनलाई गत शुक्रबार काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको हो । उनी सुनसँगै सहकारी ठगीमा समेत जोडिएका छन् ।

यस्तै पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा जितेन्द्रसमेत सुन तस्करीमा मुछिएका छन् । उनले चिनियाँ सुन तस्करसँग तस्करीसम्बन्धित गतिविधि गरिरहेको भिडिओ सार्वजनिक भइसकेको छ । पुन परिवारसँग नजिक रहेका दावाको तस्वीरसमेत सार्वजनिक भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved