एनआरएनएको तीन समूहसँग परराष्ट्रमन्त्री आक्रोशित

शर्मा, केसी र कुँवरलाई मिलेर आउन दबाब

नेपालभ्युज

एनआरएनएको तीन समूहसँग परराष्ट्रमन्त्री आक्रोशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तीन वटै समूहलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न दवाव दिएका छन् । श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुनुले राम्रो सन्देश नजाने भन्दै मिलेर जान दवाव दिएका हुन् ।

नयाँ सत्ता समीकरणअनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठको गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएसँगै तीन वटै एनआरएनएका अध्यक्षहरू बेग्लाबेग्लै रूपमा बधाई तथा शुभकामना दिन पुगेका थिए ।

सो क्रममा उनीहरूले एनआरएनएको विवादको प्रसङ्ग उठाउँदै समस्या समाधानमा सहजीकरणको भूमिका खेल्न आग्रह गरेपछि श्रेष्ठले मिल्न निर्देशन दिएका हुन ।

गैरआवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । परराष्ट्र मन्त्रालय मातहतकै संस्था मूल मुद्दालाई छाडेर स्वार्थ केन्द्रित गतिविधिमा संलग्न भएर विवादमा फसेको भन्दै श्रेष्ठले आक्रोश पोखेका थिए ।

एनआरएनएको विनोद कुँवर समूहले आइतबार परराष्ट्रमन्त्रीलाई भेट्दा बद्री केसी र आरके शर्माले शनिवार परराष्ट्रमन्त्रीलाई निवासमा पुगेर भेटेका थिए । संघभित्रको तीव्र राजनीतिकरण र खिचातानीले एनआरएनए विभाजित भएको बताइएकै बेला यो कचिङलका विषयमा परराष्ट्रमन्त्रीले पनि आक्रोश पोखेका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले नमिले दर्ता नवीकरणसहितका आवश्यक काममा सहजीकरण नगरिदिने चेतावनी समेत दिएको बताइएको छ ।
मन्त्री श्रेष्ठले सबै मिलेर नआउँदासम्म आफूलाई सहकार्य गर्न असहज हुने भन्दै एकजुट हुन दबाब बढाएको बताइएको छ ।

यही अवस्थालाई बुझेर श्रेष्ठले संघलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिएको भेटमा सहभागी अभियन्ताहरूको भनाइ छ । सीमित व्यक्ति नेतृत्वमा भए पनि लाखौँ गैरआवासीय नेपालीको हितमा संघले काम गर्न सक्नुपर्ने र त्यसका लागि विश्वासको वातावरण बनाइनुपर्ने श्रेष्ठको भनाइ थियो ।

श्रेष्ठलाई भेट्न पुगेका बद्री केसीसँग श्रेष्ठ सबैभन्दा बढी आक्रोशित बनेको बताइएको छ । भेटका क्रममा श्रेष्ठले आफू एनआरएनएको विवादबारे जानकार रहेको भन्दै संघको स्थापनाकालदेखि नै लागेको नाताले बद्री केसीले बढी पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।

श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न आफू उत्साहित रहेको बताउँदै सबै एनआरएनए एकजुट भए तुरुन्तै संस्था नवीकरण गर्न समस्या नभएको बताएका थिए ।

मन्त्रीको यस्तो भनाइपछि केसीले संस्थाको विधि तथा विधानको अधीनमा रहेर गैरआवासीय नेपाली संघभित्रको भ्रातृत्व र एकतालाई कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका थिए ।

यसैबीच एनआरएनएभित्र बढ्दो विवादका बिच समस्याको समाधानका लागि विशेषगरी केसी र आरके शर्मा पक्षबिच संवादको प्रयास भइरहेको बताइएको छ । नेपालमा नयाँ सत्ता समीकरण बनेको सन्दर्भमा दुई पक्षबिच संवादको प्रयास भएको हो ।

सहमतिका लागि दुई पक्षबिच विभिन्न मोडलमा प्रस्ताव आए पनि कुनै सहमति भने हुन सकेको छैन । शर्माले आफूहरूको माग पुनः निर्वाचन भएकाले त्यो विषय सम्बोधन नभएसम्म मिल्न सक्ने अवस्था नरहेको बताए ।

सरकारले गठन गरेको छानबिन समितिले समेत निर्वाचन त्रुटिपूर्ण रहेको रिपोर्ट दिएको सञ्चारमाध्यमबाट थाह पाएको बताउँदै शर्माले अब पुनर्निर्वाचनको विकल्प नभएको बताए । रिपोर्ट तत्काल सार्वजनिक गरेर सोहीअनुसार अघि बढिनुपर्ने शर्मा पक्षको भनाइ छ ।

तर, केसी र उनी पक्षीय अभियन्ताहरूले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् ।

उनीहरूले निर्वाचनमा पराजितहरूले अनावश्यक निहुँ खोजेको दाबी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved