माइली राईलाई नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा ३ लाख आर्थिक सहयोग

नेपालभ्युज

माइली राईलाई नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा ३ लाख आर्थिक सहयोग

काठमाडौं । नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

माइलीका श्रीमान् पाण्डवको मृत्यु भएपछि पैसा नभएर आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै समाजको सक्रियतामा सङ्कलित ३ लाख १०५ रुपैयाँ आइतबार उपलब्ध गराइएको हो ।

राईको पीडामा साथ दिँदै समाजको पहलमा नेपाल र टेक्सास लगायत अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीहरूबाट सो सहयोग जुटेको थियो ।

जुन रकम आइतबार पशुपतिको क्रियापुत्री भवनको १०७ नम्बर कोठामा पुगेर नुवाकोट–काठमाडौं पत्रकार समाजका संयोजक रमेश जमकट्टेल र अमेरिका निवासी नुवाकोटका देवेन्द्र गजुरेलले माइलीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै संयोजक जमकट्टेलले दुखद् घडीमा पत्रकारको समूह र प्रवासमा रहेका नेपालीहरूले उपलब्ध गराएको सानो सहयोगले शोकमा रहेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गजुरेलले जन्मभूमिमा परेको आपत् विपदमा प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आइरहेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहयोग रकम ग्रहण गर्दै माइली राईले आपत् परेका बेला सबै नेपालीहरू एकजुट भएको र प्राप्त सहयोगले आफूलाई परिवार चलाउन राहत मिल्ने बताइन् ।

सहयोग हस्तान्तरणका क्रममा समाजका सहसंयोजक नवराज घिमिरे, सदस्य प्रकाश पुडासैनी तथा अग्रज पत्रकार श्याम रिमाललगायतको उपस्थिति थियो ।

यसैबिच हालसम्म माइलीको परिवारलाई विभिन्न व्यक्तित्वहरूबाट करिब १८ लाख हाराहारीमा आर्थिक सहयोगसहित खाद्यान्न र अन्य सामग्री समेत जुटेको बताइएको छ ।

गत फागुन २६ गते रिक्सा चलाउने काम गर्ने पाण्डव राईको निधन भएको थियो भने उनको परिवार काठमाडौँको खुसिबुमा बस्दै आइरहेको थियो । पाण्डवको मृत्यु भएपछि आर्यघाटसम्म शव लैजाने पैसा समेत नभएपछि परिवार र नातेदारको केही व्यक्तिहरूले रिक्सामा हालेर शवलाई पशुपति आर्यघाटमा पुर्‍याएका थिए । तर त्यहाँ जलाउने पैसा समेत नभएपछि उनीहरूले कांग्रेस नेता एवं समाजसेवी नरोत्तम वैद्यलाई सम्पर्क गरेका थिए । वैद्यले तत्काल त्यहाँ पुगेर शव जलाउने र क्रियापुत्री भवनमा बस्ने प्रबन्ध गरिदिएका थिए ।

यो पनि 

https://www.nepalviews.com/2024/03/11/255716/

https://www.nepalviews.com/2024/03/12/256204


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved