नेपालभ्युज समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

‘माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट’ शीर्षकको समाचार सोमबार नेपाल भ्युजमा प्रकाशन भएपछि देश विदेशबाट सहयोग जुटिरहेको छ ।

नेपालभ्युज

नेपालभ्युज समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

काठमाडौं । शनिबार श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ ।

‘माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट’ शीर्षकको समाचार सोमबार नेपाल भ्युजमा प्रकाशन भएपछि देश विदेशबाट सहयोग जुटिरहेको छ ।

पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी सहयोगीबाट चार लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ ।

‘नुवाकोट-काठमाडौं पत्रकार समाज’को पहलमा २५ हजार रुपैयाँ र अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टको पहलमा त्यहाँ रहेका नेपालीबाट १५ सय डलर (झन्डै २ लाख रुपैयाँ) संकलन भएको हो ।

संकलन भएको रकम बुधबार पशुपति क्रियाघरमै गएर माइलीलाई हस्तान्तरण गरिने बताइएको छ ।

यस्तै काठमाडौंबाट खानका लागि १२ बोराभन्दा धेरै चामल र पिठो, फलफूल, दाललगायतका खाद्य सामग्री पनि जुटेको छ ।

बागमती प्रदेशका पूर्वसांसद एवं समाजसेवी नरोत्तम वैद्यका अनुसार माइलीको परिवारलाई मदनकुमार श्रेष्ठले ३० हजार, रुद्र ढुङ्गेलले १५ हजार, नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रबहादुर सिंहले १० हजार, शिवशंकर गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्‌‌को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट

यसबाहेक पनि विभिन्न ठाउँबाट नगद तथा खाद्य सामग्री सहयोग प्राप्त भइरहेको वैद्यले बताए ।

माइलीका ५७ वर्षीय श्रीमान् पाण्डव राईको शनिबार मृत्यु भएको थियो । शववाहनलाई दिने रकमसमेत नभएपछि उनले रिक्सामै राखेर श्रीमान्को शव पशुपतिस्थित आर्यघाट पुर्‍याएकी थिइन् ।

घाटमा तिर्ने रकमसमेत नभएपछि पूर्वसांसद वैद्यले सहयोग गरेका थिए । माइली अहिले पशुपति आर्यघाटस्थित किरियापुत्री भवनको १०७ नम्बर कोठामा किरिया बसेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved