विश्वकप क्रिकेटको दश वर्ष : नेपालीलाई क्रिकेट बुझ्न, सुन्न र हेर्न सिकाउने त्यो प्रतियोगिता

नेपालभ्युज

विश्वकप क्रिकेटको दश वर्ष : नेपालीलाई क्रिकेट बुझ्न, सुन्न र हेर्न सिकाउने त्यो प्रतियोगिता

काठमाडौं। सन् २०१४ को १४ मार्चमा टी–२० विश्वकपको पाँचौँ संस्करण सुरु भयो । यो विश्वकप नेपालका लागि भने निकै महत्त्पूर्ण रह्यो। यसै संस्करणमार्फत नेपालले टी–२० विश्वकपमा नेपालले डेब्यू गरेको थियो। सन् २०१३ मा छनोट पार गरेर पहिलो पटक नेपालले विश्वकपमा स्थान बनाएको थियो।

चैत २, २०७० (अर्थात १६ मार्च, २०१४) मा टी–२० विश्वकप क्रिकेटमम नेपालले आफ्नो पहिलो खेल खेलेको थियो। पहिलो खेलमा हङकङलाई नेपालले ८० रनको फराकिलो अन्तरमा पराजित गरेको थियो। यो खेलले नेपाली क्रिकेटको फ्यानमात्र बढाएन क्रिकेटप्रेमी विश्वसमुदायलाई नै नेपालतर्फ ध्यान खिच्यो ।

१८ मार्चमा भएको दोस्रो खेलमा बंगलादेशसँग भने नेपाल ८ विकेटले पराजित भयो । लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराएको नेपालले अघिल्लो चरणमा प्रवेशको सम्भावना बलियो बनाएको थियो । तर हङकङसँग पराजित भए पनि नेपाल र अफगानिस्तानलाई फराकिलो अन्तरमा हराएको बंगलादेश समान चार अंक भए पनि रनरेटमा नेपालभन्दा माथि रह्यो । अन्तत: नेपाल पहिलो सहभागिता लिग चरणमै रोकियो ।

नतिजा जस्तो भए पनि विश्वकपको यो यात्राले नेपालमा क्रिकेटको बलियो जग बसाइ दियो । क्रिकेट नेपालको गाँउगाँउ पुग्यो। के पहाड, के हिमाल, के युवा, के बालबालिका, सबैमा क्रिकेट मोह जगाइदियो । युवाको एउटा ठुलो पंक्ति क्रिकेटतर्फ आकर्षित हुन थाल्यो। यसले दुरदराजको गाँउहरुमा समेत क्रिकेट माहोल बन्यो ।

कति युवाले क्रिकेट खेल्न सुरु गरे। अहिले राष्ट्रिय टोलीमा परेका अधिकांश युवा खेलाडीले सोही विश्वकपपश्चात क्रिकेट खेल्न सुरु गरेका हुन् भन्दा फरक पर्दैन। कप्तान रोहितकुमार पौडेलले पनि विभिन्न अन्तवार्ता/अन्तरक्रियामा नेपालले विश्वकप खेलेको देखेर क्रिकेट खेल्न सुरु गरेको पनि बताउँदै आएका छन्।

नेपाली पुरुष टिमले सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेको हो । नेपाली राष्ट्रिय टोलीमा लामै समय एकै खेलाडीको बाहुल्यता रहिरह्यो । तर, सन् २०१४ को विश्वकपपश्चात युवा जमातका लागि क्रिकेटप्रति बढेको रुचीले नेपालमा धेरै नयाँ खेलाडी जन्मायो । जसले राष्ट्रिय टिममा अब्बल खेलाडीको पहुँच पुग्न सुरु भयो ।

घरेलु लिगहरुको आयोजना बढ्यो। विभिन्न टी–२० क्रिकेट सिरिजहरुको आयोजना हुन थाल्यो। राष्ट्रिय क्रिकेट लिग, धनगढी प्रिमियर लिग, नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिगहरुले पनि विभिन्न स्थानबाट नयाँ नयाँ खेलाडीहरु ल्याउन थाले।

यस्तै, विभिन्न उमेरसमूहका खेलाडीको उत्पादन गर्न पनि अन्डरऐजका खेलहरु हुन थाले। पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावाकर, शुवास खकुरेल, वसन्त रेग्मी, सागर पुनजस्ता खेलाडीको बहुल्यता भएको टोलीमा नयाँ अनुहारको आगमन हुन थाल्यो । जस्तै करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, कुशल भुर्तेल, आरिफ शेख, अनिल साह, आशिफ शेख, विनोद भण्डारी जस्ता खेलाडीको सहभागीता बढ्यो ।

अहिले भने कुशल मल्ल, विवेक यादव, देव खनाल, गुल्सन झा, प्रतिश जिसी, भीम सार्की, आकाश चन्द, सन्दीप जोरा, सूर्य तामाङ लगायत खेलाडीले विस्तारै राष्ट्रिय टिममा पकड बनाउँदैछन् ।

सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई विश्वमा चिनाए । सन्दीप एकसमय नेपाली क्रिकेटका लागि ब्राण्ड जस्तै बने । इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग, क्यारेबियन लिग, पाकिस्तानी लिगजस्ता विश्वका चर्चित फ्रेन्चाइज लिगमा सन्दीपको उपस्थितिले नेपाली क्रिकेटको क्षमता विश्वमा देखाउन सफल भयो।

सन् २०१४ मा नेपाली खेलाडीले बंगलादेशका विभिन्न क्रिकेट मैदानमा आफ्नो कौशल प्रदर्शन गर्दैगर्दा सुरु भएको क्रिकेट माहोलले अहिले नेपाल विश्वसामु परिचित छ । यही वर्ष भारत र पाकिस्तानविरूद्ध एसिया कपमा गरेको प्रदर्शनले नेपालले चाँडै छलाङ मार्नेमा क्रिकेट पण्डितहरु पनि ढुक्क छन् । एसोसिएट राष्ट्रमा नेपाल अरुभन्दा अब्बल देखिन्छ ।

युवा खेलाडीको आगमन र मुख्य प्रशिक्षक मोन्टी देशाईंको मेहनतले नेपाली क्रिकेटलाई नयाँ गति दिँदैछ । एकदिवसीय मान्यता जोगाउन सफल नेपाल विस्तारै टेस्ट राष्ट्र उन्मुख छ भनेर भन्नेहरु पनि छन् । नेपालको बलिङ र फिल्डिङ अब्बल छ मात्र ब्याटिङमा केही सुधार गर्न सके टेस्ट राष्ट्रमा दर्ज हुने दिन पनि टाढा पक्कै छैन ।

करिब तीन दशक लामो यो यात्रामा सन् २०१४ को विश्वकपले हरेक नेपालीलाई अहिले क्रिकेट हेर्ने, सुन्ने र बुझ्ने बनाएको छ । विश्वकपपछिको यो दश वर्षले खेल क्षेत्रमा सरकारको लगानी बढाउनेमात्र हैन नेपाल चिनाउन खेल पहिलो कडी हुने कुरा पनि प्रमाणित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved