प्रधानमन्त्रीजी, ‘इनफ इज इनफ’ नगर्नुहोला !

यो सरकारको आयु कति हुन्छ, त्यो तपाइकै हातमा छ । तपाई जनयुद्ध लडेर आएको, क्रमभंग गरेको, अहिले त फेरि उथलपुथल गर्दिने, यहाँ सहयात्रीलाई त केही थाहा नै हुँदैन । अरु देशमा यस्तो व्यवस्थामा सरकार सहयात्रीको कारणले धरापमा पर्छ । यहाँ आफैले यताबाट उता, उताबाट यता गर्दागर्दा हामी त केही भन्नै सक्दैनौं ।

प्रधानमन्त्रीजी, ‘इनफ इज इनफ’ नगर्नुहोला !

प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मत माग्ने प्रस्ताव राख्नुभएको छ । म जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रस्तावको समर्थन गर्न आएको छु । प्रस्तावलाई समर्थन गरेको जानकारी गराउँदछु ।

प्रधानमन्त्रीले चुनाव भएको १५ महिनाभित्र तेस्रोपटक रोष्टममा उभिएर विश्वासको मत माग्नुभएको छ । सहयात्री फेरिएका छन् । तर, प्रधानमन्त्रीले विश्वासको मतचाहिँ पाइरहनु भएको छ । मलाई लाग्छ– यो एक विचित्रको विडम्बना हो ।

मलाई उहाँलाई शुभकामना दिन मन छ । तर, त्यो शुभकामना म कुनरूपमा दिउँ । महाभारतकालमा सबैले अभिमन्यूको लामो जीवनको कामना गरे । शुभकामना दिए, ‘आयुष्मान भव’ भने । युधिष्ठिरले र उनका काकाहरूले त्यही भने । तर, भगवान् कृष्णले त्यसो भन्नुभएन । ‘आयुष्मान भव’ हैन, ‘ओजस्वी भव’ भन्नुभो । द्रौपदीले सोधिन्— सबैले आयुष्मान भव भने, लामो आयुको शुभकामना दिए, तपाईंले दिनुभएन ? किन होला ?

भगवान् भएकाले कृष्णलाई सर्वलीला थाहा थियो, उहाँले भन्नुभयो— आयु लामो भएर हुँदैन,जति बाँचिन्छ, त्यो कालमा कसरी जीवन बाँच्यो त्यो महत्त्वपूर्ण हुन्छ ।

प्रधानमन्त्रीको कार्यकाल कति लामो हुन्छ, म यकिन साथ भन्न सक्दिनँ । प्रधानमन्त्रीजीको कार्यकालमा यो राष्ट्रको, यो मुलुकको लागि केही उपलब्धि होस्, त्यो हाम्रो शुभकामना हो, त्यो हाम्रो इच्छा हो ।

यो सरकारको आयु कति हुन्छ, त्यो तपाईंकै हातमा छ । तपाईं जनयुद्ध लडेर आएको, क्रमभङ्ग गरेको, अहिले त फेरि उथलपुथल गर्दिने, यहाँ सहयात्रीलाई त केही थाहा नै हुँदैन । अरु देशमा यस्तो व्यवस्थामा सरकार सहयात्रीको कारणले धरापमा पर्छ । यहाँ आफैँले यताबाट उता, उताबाट यता गर्दागर्दा हामी केही भन्नै सक्दैनौँ । तथापि यहाँसँग हामीले सहकार्य गर्दै आएका छौँ । त्यसैले यो यहाँकै हातमा छ ।

तर, आजको यो रोष्टममा, यो सारा संसार, सारा नेपालीको भविष्य निर्माण गर्ने थलो, संसद्‌मा जुन दोहोरी चलेको छ, जुन भाषाको प्रयोग भएको छ, जुन प्रकारका अभिव्यक्ति यहाँ अभिव्यक्त भएको छ, म सत्ता पक्षकै एउटा घटक र त्यसको प्रतिनिधिको नाताले पनि यसलाई राम्रो मान्ने सक्ने हुती, त्यो ल्याकत मसँग छैन ।

आज म पछाडिबाट तपाईंलाई हेरिरहेको थिएँ । यसभन्दा अघि विश्वासको मत माग्दा, प्रतिबद्धता गर्दा तपाईंको अनुहारमा जुन ओज थियो, आज त्यो देखिनँ । प्राविधिकरूपमा तपाईं बलियो हुनु हुन्छ । गणपूरक सङ्ख्या पुगेको छ । प्रधानमन्त्री हुनुभएको छ । यसमा कुनै दुईमत छैन ।

तर, आज यो मुलुक, व्यवस्था र जनताको सामुन्ने सबैभन्दा ठूलो प्रश्न, यक्ष प्रश्न विश्वासको बनेको छ । आज नेपाली जनतामा नेतामाथि, दलमाथि, नेतृत्वमाथि विश्वासको खडेरी भएको छ । नेताले भाषण गर्दा जनताले पत्याउन छोडेका छन् ।

तर, पनि मेरो शुभकामना छ । तपाईंको लागि एउटा इतिहास रच्ने अन्तिम क्षण छ । तपाईं धेरै प्रयोग गरिरहने मान्छे हुनुहुन्छ । तर, कहिलेकाहीँ ‘इनफ इज इनफ’ भन्छन् नि, त्यो नगर्नुहोला ।

तपाईंको आठबुँदे सम्झौता सात बुँदेमा झरेको छ । हामीलाई पनि मधेससँगको ऐतिहासिक आठ बुँदे सम्झौता लागू होला भन्ने लागेको छ । म यो स्मरण गराउन चाहन्छु कि यहाँ मान्छेले हाम्रा एक-एक कामलाई सूक्ष्म ढङ्गले नियालिरहेका, विश्लेषण गरिरहेका छन् । नेपाली जनतामा राजनीतिक चेतना बढेर गएको छ ।

तपाईंहरू ४/५ जनाले यो लोकतन्त्रलाई सिन्डिकेटको रूपमा अगाडि बढाउन खोज्दै हुनुहुन्छ, यो भविष्यका लागि राम्रो हुँदैन । नेपाली जनताको अपेक्षाअनुसार विश्वास जित्ने हो भने बृहत् तरिकाले सोच्न पर्दछ ।

तपाईंले ३ वटा अनुहार लिँदा मधेसी देखिएन । तपाईंले गरेका प्रतिबद्धताअनुसार हामी हाम्रो भाग खोज्छौँ । यदि हामीलाई न्यायसङ्गत लागेन भने हिसाब माग्नेछौँ । त्यो हिसाब अप्रिय पनि हुन सक्दछ ।

प्रधानमन्त्री जी र एमाले अध्यक्ष ओलीजीले आरती शाह र मिटरब्याजीसँगको सम्झौतालाई ऐतिहासिक भन्नुभयो, प्रधानमन्त्री त हिजो पनि तपाईं नै हुनुहुन्थ्यो । गृहमन्त्री तपाईंकै पार्टीको हुनुहुन्थ्यो । यसको मतलब तपाईंले, त्यो गृहमन्त्रीले हिजो काम नगरेको हो ?

यो वा त्यो दुवै एकै पटक ठीक वा राम्रो हुन सक्दैन प्रधानमन्त्रीज्यू ! फेरि एकपटक शुभकामना भन्न चाहन्छु । तपाईंलाई इतिहास रच्ने अन्तिम मौका छ ।

(जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा गरेको सम्बोधन)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved