काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा नजाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोमबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले तत्काल प्रदेश सरकारमा पनि सहभागी नहुने तर आवश्यकताअनुसार पछि जान सकिनेगरी आवाश्यक कार्यादेश अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । यस्तै बैठकले पार्टीले सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा तय भएको जनप्रदर्शनको मिति सार्ने निर्णय पनि गरेको छ ।
एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शन चैत २७ गतेलाई सारेको राप्रपाले जनाएको छ ।
बैठकले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।
राप्रपाले पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्नमाथि कारबाही गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ ।


Facebook Comment
Comment