वृद्धाश्रममै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता

नेपालभ्युज

वृद्धाश्रममै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता

वालिङ । स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो ।

उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै आएका छन् । झण्डै १५ किलोमिटर टाढाको गल्याङमा रहेको बैंकसम्म जानसक्ने अवस्था नभएका ज्येष्ठ नागरिकले आश्रममै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि खुसी भएका छन् । वृद्धाश्रममा स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, कास्कीलगायत जिल्लाका ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

वृद्धाश्रममा बस्दै आउनुभएकी ९४ वर्षीया धनकुमारी मल्ल गल्याङस्थित बैंकमा जान सक्ने अवस्था छैन । मल्लजस्तै वृद्धाश्रममा बस्दै आएका अन्य वृद्धवृद्धाको अवस्था उस्तै हो । वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न जान आउन समस्या भएका कारण वृद्धाश्रम, गल्याङ नगरपालिका र गरिमा विकास बैंकको समन्वयमा वृद्धाश्रममै भत्ता उपलब्ध गराउन थालिएको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले बताए ।

हाल नौ जनालाई गरिमा विकास बैंकले वृद्धाश्रममै आएर भत्ता वितरण गर्दै आएको उनले बताए । “यहाँ बस्नुभएका ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान ल्याउन समस्या छ”, कार्यालय सचिव श्रेष्ठले भने, “ज्येष्ठ नागरिकको सहजतालाई ध्यान दिँदै वृद्धाश्रममै भत्ता दिने व्यवस्था मिलाइएको छ ।” वृद्धाश्रममा बस्दै आएकामध्ये केही ज्येष्ठ नागरिकको नागरिकतासमेत नभएकाले भत्ता उपलब्ध गराउन नसकिएको उनले बताए ।

गरिमा विकास बैंक गल्याङका कर्मचारी वृद्धाश्रममै उपस्थित भई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको शाखा प्रमुख यज्ञ न्यौपानेले जानकारी दिए । वृद्धाश्रममा बस्दै आएका गल्याङ नगरपालिका–१ भन्दा बाहिरका ज्येष्ठ नागरिकले वडामा बसाइँसराइको प्रमाणपत्र ल्याएर भत्ता बुझ्दै आएका छ ।

“यसअघि वृद्धाश्रममा बस्दै आएका ११ ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेका थियौँ”, शाखा प्रमुख न्यौपानेले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved