कपाल उमार्ने भन्दै श्रीकेशको विज्ञापन गरेर कलाकार जान्छन् कपाल रोप्न अस्पताल !

कलाकार साजन श्रेष्ठले आफ्नो युट्युब कन्टेन्टमा श्रीकेश तेलको विज्ञापन गरेका छन् । प्रदर्शनमा रहेको फिल्म पुजार सार्कीका कलाकारलाई अन्तरवार्तामा बोलाएका थिए । त्यहाँ श्रीकेश तेलको विज्ञापन गरिएको उनको युट्युब कन्टेन्टमा देख्न सकिन्छ । तर, उनले कपाल भने २ साताअघि नै अस्पतालमा रोपेका थिए । सायद अब अर्को कार्यक्रममा उनले भन्दा हुन् ‘श्रीकेश तेल लगाएर मेरो कपाल उम्रियो ।’

नेपालभ्युज

कपाल उमार्ने भन्दै श्रीकेशको विज्ञापन गरेर कलाकार जान्छन् कपाल रोप्न अस्पताल !

काठमाडौं । नयाँ कपाल उम्रने र झर्न रोक्ने भन्दै औषधीय प्रयोजनका लागि निकै चर्चामा रहेको श्रीकेश तेलले दाबी गरिए जस्तो काम नगर्ने त्यसको विज्ञापन गर्ने कलाकार स्वयंले पुष्टि गरेका छन् ।

नेपालमा ‘अवैध रुपमा बिक्री वितरण हुँदै आएको’ आरोप लागेको सो तेलको विज्ञापन गर्ने कलाकारहरूले दर्शकलाई किन्न प्रचार गर्दै आफू भने कपाल रोप्न गएपछि यस्तो खुलासा भएको हो ।

त्यसको भिडिओ नै उनीहरूले भ्लग बनाएर पोस्ट गरेका छन् । जबकि आफ्नै कार्यक्रममा श्रीकेश तेलको प्रचार गरिरहेका छन् । श्रीकेश तेलले कपाल झर्न रोक्ने मात्र नभई उमार्ने प्रचार गरिरहेको छ ।

पछिल्लो समय श्रीकेश तेलका बिक्रेताले कलाकारहरूलाई ‘आफ्नो उत्पादन’को प्रचारमा भरपूर प्रयोग गरिरहेका छन् । बिक्रेताले पूर्व राष्ट्रपतिलगायत प्रधानमन्त्रीसम्मको हातमा जबरजस्ती तेल थमाइरहेका छन्, भिडिओ खिचेर सञ्जालमा प्रचारकै लागि ।

उत्पादक सप्तऋषि आयुर्वेद नामक कम्पनीले यो तेल उत्पादन र बिक्री वितरण गर्दै आएको भनिएको छ । प्रति बोतल ३ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो तेलले दाबी गरिएको जस्तै गरी काम गर्ने प्रमाणित त भएको छैन नै, विज्ञापन समेत झुटो रहेको एक कलाकारले खुलासा गरेका छन् ।

अहिले उनी सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । धेरैले ‘झुटो विज्ञापन’ भन्दै उडाइरहेका छन् ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’मार्फत चर्चामा आएका कलाकार साजन श्रेष्ठले आफ्नो भ्लगमा श्रीकेश तेलको विज्ञापन गरेका छन् । प्रदर्शनमा रहेको फिल्म पुजार सार्कीका कलाकारलाई अन्तरवार्तामा बोलाएका थिए । त्यहाँ श्रीकेश तेलको विज्ञापन गरिएको उनको युट्युब कन्टेन्टमा देख्न सकिन्छ । उनले त्यो अन्तरवार्ता एक साताअघि लिएका हुन् । तर, उनले कपाल भने २ साताअघि नै रोपेका थिए । सायद अब अर्को कार्यक्रममा उनले भन्दा हुन् ‘श्रीकेश तेल लगाएर मेरो कपाल उम्रियो ।’

साजन श्रेष्ठले बालुवाटारस्थित डा उदिप श्रेष्ठको ‘हेल्दी च्वाइस एस्थेटिक अस्पताल’ २४ सय वटा कपाल रोपेका हुन् । कलाकार साजनको भिडिओ शेयर गर्दै डा उदित श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘‘हास्य कलाकार युट्युबर साजन साजन श्रेष्ठले २४०० ग्राफ्टहरू प्रत्यारोपण गरेका छन् । त्यो भिडिओ हेर्नुहोला । हामी केवल कपाल पुनर्स्थापित गर्दैनौँ, आत्म–विश्वासका कथाहरू पुनः लेखिरहेका छौँ ।’’

कपाल रोपेको भिडिओमा साजनले रमाइलो अनुभूतिहरू सुनाएका छन् । ‘‘मलाई कपाल रोपिसकेको छु । गाडी राखेको ठाउँ (पार्किङ)सम्म कसरी जाने होला , केही लगाउनु हुँदैन रे टाउकोमा । अब भर्खर रोपेको कपाल र खाली तालु लिएर जाँदा बिल्ला पो भो त ?’’ उनले कपाल रोपिसकेपछि अन्तमा भनेका छन् ।

कपाल रोपेर निस्किने बेलामा उनले डा. उदीप श्रेष्ठलाई धन्यवाद दिएका छन् । भनेका छन्, ‘‘धरैधेरै धन्यवाद है, अब रिजल्ट कुर्ने त होला नि ।’’

अस्पतालमा कपाल रोप्दै कलाकार साजन श्रेष्ठ

ओलीको भाषणको दुरुपयोग

यसअघि बिक्रेताले एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणको क्लिप काटेर आफ्नो उत्पादनबारे बोलेको दाबी गर्दै झुटो प्रचार गरिरहेको छ । गत २३ चैतमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पोखरामा एमाले कास्कीको ११ औँ अधिवेशनमा निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा गएका थिए । त्यहाँ उनले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताए थिए । आफू झन् झन् बलियो हुँदै गएको ओलीले बताएका थिए ।

पार्टीका पूर्व वरिष्ठ नेता माधव कुमार नेपाललाई लक्षित उनले भनेका थिए ‘‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमाले बिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’’

ओलीले भनेको ‘अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैले पलाउन थालेको छ’ भन्ने वाक्यांशलाई श्रीकेश तेलको उत्पादकले प्रचार गरिरहेका छन् । केही समयअघि ओलीलाई उत्पादकले उपहार भन्दै तेल दिएका थिए । अहिले ओलीको त्यही भिडिओ बुष्ट गरिएको छ ।

आफ्नो कार्यक्रममा श्रीकेश तेलको प्रचार गर्दै कालाकार साजन श्रेष्ठ

दर्ता छैन औषधी व्यवस्था विभागमा

आयुर्वेद औषधालयका जानकारहरू भने यो तेलबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन् । आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा. रुपेन्द्र पुरीले उनले यो तेलबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘‘आयुर्वेद भनेर बोतलमा नलेखिए पनि प्रचार भइरहेको छ । आयुर्वेद भनिएपछि औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । तर सप्तऋशी आयुर्वेद नामको संस्था र श्रीकेश तेल औषधि व्यवस्था विभागमा दर्ता छैन ।’’

श्रीकेश तेलको विज्ञापन लक्षित गरेर केही दिनअघि विज्ञापन बोर्डले झुटो प्रचार गरेर उपभोक्तामा भ्रम नछर्न भन्दै सूचना जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved