पछिल्लो इजराइली आक्रमणमा रफाह शिविरमा २१ को मृत्यु

नेपालभ्युज

पछिल्लो इजराइली आक्रमणमा रफाह शिविरमा २१ को मृत्यु

एजेन्सी ।  रफाहको पश्चिममा मङ्गलबार विस्थापितहरूको शिविरमा भएको इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । यस्तै प्रकारको आक्रमणले विश्वव्यापी आक्रोश फैलाएको दुई दिनपछि उक्त आक्रमण भएको हो ।

एजेन्सीका वरिष्ठ अधिकारी मोहम्मद अल–मुगय्यिरले भने, “रफाहको पश्चिममा विस्थापित नागरिकको पाललाई लक्षित गरी गरिएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ ।”

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सोही सङ्ख्या दिँदै ६४ जना घाइते भएको र तीमध्ये १० जना गम्भीररूपमा घाइते भएको बताएको छ । प्यालेस्टिनी समूह हमासले पनि इजराइली आक्रमणमा यस क्षेत्रमा ‘दर्जनौँ मानिस सहिद भएको’ बताएको छ ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले पत्रकारहरूसँग भने, “मलाई यस घटनाका बारेमा थाहा छैन, हामी घटनाको अनुसन्धान गरिरहेका छौँ र हामी तपाईंलाई अग्रीम सूचना दिनेछौँ ।”

गाजा अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो ।

इजराइलले मे ७ मा रफाहमा आफ्नो विवादास्पद आक्रमण सुरु गर्यो र त्यहाँ शरण लिएका १४ लाख प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि विश्वव्यापी चिन्ताहरूलाई खारेज गर्यो ।

राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी युएनआरडब्ल्यूएले मङ्गलबार त्यसयता करिब १० लाख नागरिक रफाहबाट भागेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved