खडेरीका कारण हिउँदे बाली प्रभावित, किसान चिन्तित

नेपालभ्युज

खडेरीका कारण हिउँदे बाली प्रभावित, किसान चिन्तित
फाइल फोटो

पर्वत, ९ फागुन : लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन् । झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन् ।

किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ ।

पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ । वर्षा नहुँदा धान काटेपछि बाँझै रहेका खेत जोत्न समेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् ।

लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए । खेतमा मकै लगाउने बेला भइसकेपनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । “बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ । त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ”, उनले भने ।

सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन बढ्ने अधिकारीले बताए । “यो बेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुन्छ”, उनले भने । चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ थियो ।

पर्वतमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठुलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र ३० प्रतिशत भन्दा बढीले उत्पादनमा कमी आउने प्रमुख अधिकारीको अनुमान छ ।

त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातीचौर र मिलनचोक क्षेत्रका साथै दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ ।

कतिपय ठाउँमा बालीनालीनै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाइएका बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्न समेत नपाएको किसानले गुनासो गरेका छन् ।

जिल्लामा झण्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमा पानी बन्द हुँदा झनै समस्या भएको केन्द्रले जनाएको छ ।

सानातिना मूलको भरमा खेती गर्दै आएका किसान खडेरीका कारण मूल सुकेपछि झनै चिन्तित भएका शङ्करपोखरीका किसान कुलप्रसाद तिवारीले बताए । उनले भने, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ ।”

यो महिनाभरीमा वर्षा नहुने हो भने मकैखेती र लहरेबाली उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यसवर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो हानि गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved