व्यस्त बजारमा गोली हानी प्रहरीकै हत्या, माओवादी विद्रोहकालीन झल्को !

स्थानीय भन्छन्- प्रहरी नै सुरक्षित छैनन्, हामी कसरी बाँच्ने ?

त्यो बेलामा छापामारका बढ्दो गतिविधिबीच प्रहरी त्रासमा हुन्थे थियो । तर, शान्ति प्रक्रियाको १७ वर्षपछि यो घटना हुनुको कारण भने बेग्लै थियो ।

नेपालभ्युज

व्यस्त बजारमा गोली हानी प्रहरीकै हत्या, माओवादी विद्रोहकालीन झल्को !

दाङ । बिहीबार साँझको समय, दाङको घोराहीमा तीनजना महिला प्रहरीहरू हिँडिरहेका थिए । ड्यूटीमा खटिएका उनीहरू निलो सर्ट र कालो पाइन्टमा थिए ।

उनीहरू थिए, वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापा र साथीहरू । घोराही उपमहानगरपालिका १५, दामोदर चोकमा उनीहरूको ड्यूटी थियो ।

साँझ साडे ७ बजेतिर प्रहरी जवान धनमाया थापा मोबाइलको चार्जर किन्न एक इलेक्ट्रिक पसल छिरिन् । चार्जर किनिन् । त्यसपछि धनमाया र साथीहरू फर्केर प्रहरी कार्यालय फर्कँदै थिए ।

सडक किनाराबाट उनीहरू हिँडिरहेका थिए । साँझ झमक्क भइसकेकाले सवारीसाधन त्यति चलेका थिएनन् । यत्तिकैमा विपरीत दिशाबाट भे. १२ प ११५० नम्बरको एउटा पल्सर मोटरसाइकल आयो ।

धनमायाको केही अगाडि रोकियो । चालकले धनमायातर्फ इशारा गर्दै केही काम छ भनेर थोरै पर लगे । साथीहरू भने वरै बसे ।

एक्लै रहेकी धनमायालाई मोटरसाइकल चालकले खल्तीबाट पेस्तोल निकालेर ताके । गोली चल्यो, धनमायाको छातीमा गोली लाग्यो । लगत्तै अर्काे राउन्ड गोली पनि छातीमै लाग्यो । उनी पछाडि फर्कन खोल्दै थिइन्, तेस्रो गोली ढाडमा लाग्यो । अन्तत: उनी ढलिन् ।

मोटर साइकल चालक अगाडि लमहीतर्फ भागे । यो घटना १०/१२ सेकेन्डको बीचमै भयो ।  वरपर बजारका बासिन्दाहरू त्रसित भए । धनमायाका साथीहरू दौडँदै उनीतर्फ गए । छाती र ढाँडबाट अत्यधिक रत्तश्राब भइरहेको थियो । उनी बेहोश भइसकेकी थिइन् ।

यत्तिकैमा एउटा निजी गाडी आयो । भुँइमा ढलेकी धनमायालाई त्यो गाडीमा हालेर अस्पताल लगियो । तर, उनको घटनास्थलमै ज्यान गइसकेको केहीबेरछि पुष्टि भयो । तीन राउन्ड गोली हानेर भागेका चालक लमहीको अर्जुन खोलामा घटनामा प्रयोग भएको पेस्तोलसति समातिए । उनी थिए, यमबहादुर झाँक्री । उनी पक्राउ परेपछि रहस्य खुल्यो, गोली हान्ने झाँक्री गोली लागेर ज्यान जाने धनमायाकै पति रहेछन् ।

उनी पनि प्रहरीकै सहायक हवलदार थिए । एसएसपीका रनर भई तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार साँझ मोटरसाइकलमा घोराही आएर पत्नी थापाको हत्या गरेका रहेछन् ।

बजार बीचमा प्रहरी बीटमा साथीसँगै ड्यूटीमा रहेकी पत्नी धनमायालाई केही काम छ भनी बोलाएर यमबहादुरले गोली हानेको एसपीले बताए । उनले गोली हानेर घोराहीको अस्पताल रोड हुँदै भागेको सीसीटीभि फूटेजमा देखिएपछि प्रहरीले पछ्याउँदै पक्रेको थियो ।

ड्यूटीमा रहेको प्रहरी मारिएको खबरले दाङका बासिन्दालाई माओवादीको सशस्त्र द्वन्द्वको समयको झल्को दिलाइदियो । नदिलाओस् पनि किन, द्वन्द्वकालमा माओवादीको आधार क्षेत्रजस्तै रहेको ठाउँमा त्यहाँ बसाइँ सरेर आउनेहरू धेरे छन् । रोल्पा, रुकुम, सल्यानलगायतबाट दाङमा बसाइँ सरेर झर्नेहरू धेरै छन् ।

माओवादीले विधि र व्यवस्था बदल्न भन्दै मध्यपश्चिमका पहाडी जिल्ला रोल्पा र रुकुमबाट सुरू गरेको सशस्त्र द्वन्द्वका आधार क्षेत्रहरूबाट दाङमा बसाइँ सरेर आउनेहरू धेरै छन् । द्वन्द्वकालमा दाङमै पनि केही भिडन्त भएका थिए । केही प्रहरी मारिएका थिए ।

तत्कालीन विद्रोही माओवादीले २० फागुन २०५५ मा दाङको चिराघाट इलाका प्रहरी कार्यलयमा आक्रमण गरेको थियो । ७ प्रहरीको ज्यान गएको थियो । ती घटना प्रत्यक्ष देखेका दाङका बासिन्दाको आँखामा साढे २ दशकअघिका घटनाको झल्को आयो । त्यो बेलामा छापामारका बढ्दो गतिविधिबीच प्रहरी त्रासमा हुन्थे थियो । तर, शान्ति प्रक्रियाको १७ वर्षपछि यो घटना हुनुको कारण भने बेग्लै थियो ।

पारिवारिक कलहकै कारण प्रहरी धनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत माघमा धनमायाले अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख केसी भन्छन्, “श्रीमान्-श्रीमतीबीच बेमेलका कारण गोली हान्नेसम्मको घटना भएको देखिएको छ । प्रारम्भिक चरणको अनुसन्धानमा पारिवारिक कलह नै देखेका छौँ ।”

उनीहरूका एक छोरा छन् । धनमायाले यसअघि श्रीमान्‌ले फोनमा मार्ने धम्की दिने गरेको भन्दै सहकर्मीमाझ बताउँथिन् । व्यस्त सडकको बीच बजारमै ड्यूटीमा रहेको प्रहरी मारिनुले माओवादी सशस्त्र द्वन्द्वको समयको झल्को आएको स्थानीयहरू बताउँछन् ।

उनीहरू भन्छन्, “पहिला तुलसीपुरमा यस्ता घटना हुन्थे । अहिले घोराहीमा पनि भए भन्ने लाग्यो । प्रहरी हत्याको घटना हेर्दा माओवादी सशस्त्र द्वन्द्वको समयको झल्को आयो ।”

घोराहीमा ड्यूटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भीर बहस सिर्जना भएको छ । शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको जिल्लातहमा विश्लेषण हुन थालेको छ ।

केही दिन पहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेर आफैँ प्रहरीकहाँ पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved