अदालतले सेवा सुविधा कटौती गर्ने आदेश दिएपछि सरकार ढाल्ने पूर्वमुख्यमन्त्री शाहीको चेतावनी

नेपालभ्युज

अदालतले सेवा सुविधा कटौती गर्ने आदेश दिएपछि सरकार ढाल्ने पूर्वमुख्यमन्त्री शाहीको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकारी सेवा सुविधा दिने विषयमा अदालतले कारण देखाउ आदेश जारी गरेपछि सरकारमा सामेल मन्त्रीलाई उपयुक्त निर्णय गर्न भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले सरकार ढाल्ने चेतावनीसहित कांग्रेसका मन्त्रीलाई उपयुक्त निर्णय गर्न भनेका हुन् ।

‘यो अराजकताको अवस्था कर्णाली कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो ।’, शाहीले लेखेका छन्, ‘सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरुले व्यवस्थापन गर्दा राम्रो होला ।’

पूर्व पदाधिकारीहरुलाई सवारी साधन दिने कानुनी व्यवस्था नरहेपनि पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीको हैसियतमा जीवनबहादुर शाहीलाई प्रदेश सभाको कार्यकालभर, प्रदेशसभा सदस्य रहुन्जेलसम्म उनले प्राप्त गर्ने सुविधामा दोहोरो नपर्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट यातायात सुविधा वापत गाडी–१, हलुका सवारी चालक–१, गाडी मर्मत खर्च वार्षिक बढीमा एक लाख पचास हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मासिक २०० लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेको थियो ।

सो सम्बन्धि सुबिधा प्रति अधिवक्ता खगेन्द्रबहादुर खनालले मंगलबार पूर्वमुख्यमन्त्रीलाई सवारी साधन दिने सुविधा नभएको भन्दै रिट दाएर गरेका थिए । बुधबार उच्च अदालत सुर्खेतले कारण देखाऊ आदेश जारी गरेको हो ।

निवेदकका तर्फबाट अधिवक्ताहरु टिकाप्रसाद पोखरेल, निरादेवी माङ्मो, नवराज चौलागाई र निवेदक स्वयंले गरेको बहस, छलफल पश्चात न्यायाधीश सागर विष्टको एकल इजलासले जारी गरेको आदेश दिएको थियो ।

आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सो खुलाई बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं १–४ को हकमा मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेश सुर्खेत मार्फत र विपक्षी नं ५ का हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न र अन्तरिम आदेश समेत माग भएको सम्बन्धमा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा छलफलका लागि फागुन ९ गतेको मिति तोकी दुवै पक्षलाई जानकारी गराउनु ।’

आदेशपछि पूर्वमुख्यमन्त्री शाहीले कांग्रेस सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved