रामग्राम क्षेत्र निजी कम्पनीलाई भाडामा दिने सम्झौता खारेज

गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल ‘रामग्राम क्षेत्र’मा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज भएको छ ।

नेपालभ्युज

रामग्राम क्षेत्र निजी कम्पनीलाई भाडामा दिने सम्झौता खारेज
तस्वीर स्रोत : लुम्बिनी विकास कोष

काठमाडौं । गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल ‘रामग्राम क्षेत्र’मा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज भएको छ ।

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो ।

यस क्षेत्रमा यसअघि कोषसँग रहेको जग्गा र थप १ सय १६ बिघा जमिन अधिग्रहण गरी कोषले निजी कम्पनीको जिम्मा लगाउने गरी सम्झौता गरेको थियो ।

कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो । युनेस्कोको मापदण्ड र कानुनी प्रक्रिया अनुसार निर्माण कार्य गर्न र मापदण्ड विपरीत भएका यस्ता क्षेत्र उत्खनन र अनुसन्धान नगर्न समितिले निर्देशन दिएको थियो ।

संघीय सांसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ माघको निर्देशन अनुसार कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

लेखा समितिले रामग्राम क्षेत्रमा भएको सम्झौतामा संलग्नमाथि अनुसन्धान गर्न पनि निर्देशन दिएको छ । यस्तो कार्य अर्को स्थानमा नहोस् भनेर सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

रामग्राम नवलपरासी जिल्लामा पर्छ । यस क्षेत्रको उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्न कोषले निजी कम्पनीसँग समझदारी गरेसँगै लेखा समितिले यसमा चासो देखाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved