पास्टरसँग ५ करोड फिरौती माग्दै धम्क्याउने पक्राउ, धम्क्याउन बाँकी लिस्टमा प्रधानमन्त्रीको समेत नाम !

पक्राउ पर्नेहरूबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम छ ।

नेपालभ्युज

पास्टरसँग ५ करोड फिरौती माग्दै धम्क्याउने पक्राउ, धम्क्याउन बाँकी लिस्टमा प्रधानमन्त्रीको समेत नाम !

पोखरा । पोखरा–१६ मा सच्चाई सेवा केन्द्र (चर्च)चलाउँदै आएका पास्टरसँग ५ करोड रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ परेका छन् । चर्चका सञ्चालक प्रकाशदीप गैरेले पैसा नदिए ज्यान मार्ने धम्की दिइएको थियो ।

पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । बुधबार साँझ पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरूले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ ।

गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले भने, ‘फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको पाइयो ।’

सच्चाई सेवा केन्द्र चलाइरहेका प्रकाश गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राख्दै आएका थिए । पक्राउ परेका मुख्य आरोपी लक्ष्मण दर्जीले त्यही युट्युबमार्फत नै गैरेबारे जानकारी लिएको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।

युट्युबबाट गैरेबारे जानकारी लिइसकेपछि उनी पैसा दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए ।

गैरेको नम्बर पत्ता लगाइसकेपछि उनीहरूले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरूले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरूले तोक्ने उल्लेख गरेका थिए । त्यही क्रममा २४ गते भने उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूबाट बरामद भएको पान्नामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासहित ३५ जनाभन्दा बढी नेता, व्यवसायी तथा उद्योगीको नाम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved