२०औँ वार्षिकोत्सव मनाउँदै टेलिकम: २ करोड १२ लाख ४२ हजार ग्राहक

नेपालभ्युज

२०औँ वार्षिकोत्सव मनाउँदै टेलिकम: २ करोड १२ लाख ४२ हजार ग्राहक

काठमाडौं । नेपाल टेलिकम आजदेखि २१ औँ वर्षमा लागेको छ । सन् २००४ देखि कम्पनीमा परिणत भएको टेलिकमले आज २० औँ वार्षिकोत्सव मनाउँदै छ।

सुरुमा नेपाल दूरसञ्चार संस्थानका रूपमा रहेको थियो । कम्पनीमा परिणत भएको भने २१ वर्ष पुगेको हो ।

कम्पनीका रूपमा सेवा दिन थालेको दुई दशक पुग्दा कम्पनीको भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या बढेको छ ।

२०८० मङ्सिर मसान्तसम्ममा टेलिकमको सेवा २ करोड १२ लाख ४२ हजार ५ सय जनाले लिइरहेका छन् । यस्तै, इन्टरनेट डेटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८-७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो ।

यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये ३२ अर्ब ५८ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको थियो । यस्तै, कर तिरेपछिको खुद नाफा भने ११ अर्ब ८४ करोड रुपैयाँ आसपास रहेको बताइएको छ ।

टेलिकमले आर्थिक वर्ष २०७८-७९ मा अग्रिम आयकर ४ अर्ब ६२ करोड रुपैयाँ बुझाएको थियो । यस्तै, मूल्य अभिवृद्धि करबापत ३ अर्ब ४६ करोड बुझाउँदा दूरसञ्चार सेवा शुल्कबापत ३ अर्ब ४८ करोड रुपैयाँ बुझाएको थियो ।

यसबाहेक, स्वामित्व शुल्कबापत राज्यकोषमा सोही आर्थिक वर्षमा ६९ करोड ८४ लाख रुपैयाँ बुझाउँदा भन्सार शुल्कबापत २८ करोड ९९ लाख बुझाएको कम्पनीले जनाएको छ ।

यसबाहेक, रोयल्टीबापत २ अर्ब २४ करोड रुपैयाँ र फ्रिक्वेन्सी दस्तुरबापत राज्यकोषमा १ अर्ब ६२ करोड रुपैयाँ राज्यकोषमा जम्मा गरेको थियो ।

कम्पनीकारुपमा परिणत भएको २० वर्ष पुग्नुअघि सन् १९१६ मा दूरसञ्चार संस्थाकारुपमा काठमाडौँ उपत्यकामा पहिलो टेलिफोन लाइनको स्थापना गरेको थियो । यस्तै, सन् १९१७ मा काठमाडौँदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो ।

यसपछि, कम्पनीले तत्कालीन संस्थानकारुपमा सन् १९५५ मा सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा वितरण गरेको थियो । यस्तै, पछिल्लो समय सन् २०२३ मा कम्पनीले नेपालमा फाइभजी इन्टरनेटको परीक्षण सुरु गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved