हेटौँडा सिमेन्ट उद्योगमा पाँच महिनादेखि उत्पादन ठप्प, कर्मचारी आन्दोलनमा

सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

नेपालभ्युज

हेटौँडा सिमेन्ट उद्योगमा पाँच महिनादेखि उत्पादन ठप्प, कर्मचारी आन्दोलनमा

काठमाडौं। सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ ।

सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ छ ।

रकम अभाव भएपछि अवकाशप्राप्त १५ कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो गरेका छन् ।

दैनिक सात सय पचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन नएको हो । विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताए । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने बताउँदै उनले उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने जानकारी दिए ।

आव वर्ष २०७६-७७ देखि २०७८-०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान भएको थियो । गत आवमा मात्र २३ करोड ५५ लाख नोक्सान भएको थियो ।

उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् ।

यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved