प्रधानमन्त्री कप क्रिकेट

पुलिस अपराजित, कोशी र लुम्बिनीको खराब प्रदर्शन (लिग समीक्षा)

उपाधिका लागि पुलिस र आर्मी भिड्ने

नेपालभ्युज

पुलिस अपराजित, कोशी र लुम्बिनीको खराब प्रदर्शन (लिग समीक्षा)

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल सकिएका छन्। बिहीबार लिग चरण सकिएसँगै प्रतियोगिताको फाइनल खेल्ने दुवै टोलीको टुङ्गो लागेको हो।

लिग चरणमा हरेक टोलीले ९ खेलमा प्रतिस्पर्धा गरे । अंक तालिकामा शीर्ष दुईमा रहँदै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान पक्का गरे । विभागीय डर्बीको फाइनल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

लिग चरणमा नेपाल पुलिस अविजित रह्यो। सम्पूर्ण ९ खेलमा जित हासिल गरेको पुलिस १८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रह्यो। ९ खेलमध्ये ७ खेल आफ्नो पक्षमा गरेको आर्मी १४ अंकसहित दोस्रो स्थानमा रह्यो। आर्मी दोस्रो खेलमा बागमतीसँग ३ विकेट र चौथो खेलमा पुलिससँग १३ रनले पराजित भएको थियो।

यस्तै, लिग चरणमा ६ खेलमा जित निकालेको बगमती र मधेस प्रदेश समान १२ अंकसहित क्रमश: तेस्रो र चौथो स्थानमा रहे। आफ्नो पहिलो दुई खेलमा बागमती पुलिससँग ६८ रन र एपीएफसँग ८९ रनले तथा सातौं खेलमा गण्डकीसँग ३ विकेटले पराजित भयो।

एपीएफ क्लब भने १० अंकसहित पाँचौँ स्थानमा रह्यो। एपीएफ तेस्रो खेलमा मधेससँग, चौथो खेलमा पुलिस क्लब, पाँचौँ खेलमा आर्मी र अन्तिम खेलमा कर्णालीसँग हार्न पुग्यो।

४–४ खेलमा जित हासिल गरेको सुदूरपश्चिम र कर्णाली ८ अंकसहित क्रमश: छैंटौँ र सातौं स्थानमा रहे। सुरुवाती ३ खेलमा लगातार जित हासिल गरेको सुदूरपश्चिम प्रदेशले चौथोमा मधेससँग पराजय भोगेको थियो । कोशीलाई ८ विकेटले हराउँदै लिगमा आफ्नो चौथो जित दर्ता गराउन सुदूरपश्चिम सफल भयो। तर, अन्तिम ३ खेलमा सुदूरपश्चिम बागमती, आर्मी र एपीएफसँग पराजित हुन पुग्यो । उत्कृष्ट सुरुवात गरे पनि लय गुमाउन पुग्दा सुदूर फाइनलसम्म पुग्न सकेन ।

यता, कर्णलीले पहिलो खेलमा गण्डकी, तेस्रोमा लुम्बिनी, चौथोमा कोशी र अन्तिम खेलमा एपीएफलाई हराए पनि अन्य सबै खेल गुमाउँदा लिग चरणबाट अघि बढ्न सकेन ।

केवल २ खेलमा जित प्राप्त गरेको गण्डकी ४ अंकसहित आठौं स्थानमा रह्यो। गण्डकीले चौथो खेलमा कोशी र पाँचौँ खेलमा बागमतीलाई हरायो।

केवल १ खेलमा जित हासिल गरेको लुम्बिनी २ अंकसहित नवौ स्थानमा रह्यो। पहिलो खेलमा लुम्बिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको लुम्बिनी बाँकी सम्पूर्ण खेलमा भने पराजित भयो।

आफ्नो अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै अंकविहीन हुनबाट जोगिएको कोशी भने २ अंकसहित पुछारमा रह्यो। सुरुवातका ८ खेलमा पराजित भएको कोशीले भने अन्तिम खेलमा लुम्बिनीलाई १६ रनले हराउँदै सान्त्वना जित हासिल गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved