के मुख्यमन्त्री कार्कीको विकल्प खोज्दैछ एमाले ? दलको कार्यालयमा हस्ताक्षर सङ्कलन !

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अहिले प्रमुख प्रतिपक्ष बनेको नेकपा (एमाले) ले नै बनाएको हो । तर, पछिल्लो समय ऊ मुख्यमन्त्री कार्कीसँग सन्तुष्ट छैन ।

नेपालभ्युज

के मुख्यमन्त्री कार्कीको विकल्प खोज्दैछ एमाले ? दलको कार्यालयमा हस्ताक्षर सङ्कलन !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अहिले प्रमुख प्रतिपक्ष बनेको नेकपा (एमाले) ले नै बनाएको हो । तर, पछिल्लो समय ऊ मुख्यमन्त्री कार्कीसँग सन्तुष्ट छैन ।

अझ पदाधिकारीहरूको सेवा-सुविधासम्बन्धीको पछिल्लो अध्यादेश ल्याएपछि त एमाले मुख्यमन्त्री कार्कीसँग राजनीतिकरूपमा निकै चिढिएको छ । उसले संसद्‌‌को न्यूनतम सिद्धान्तसमेत भुलेर अध्यादेश ल्याएको प्रतिक्रिया दिएको छ, पत्रकार सम्मेलनकै आयोजना गरेर एमालेले त्यसको आलोचना र विरोध गरेको छ ।

तर, आफूहरू मुख्यमन्त्री कार्कीको विकल्प नै खोज्ने तहमा भने नपुगेको नेताहरूले बताएका छन् । तर, कतिपय समाचारहरूमा भने एमाले मुख्यमन्त्री कार्कीको विकल्प खोज्ने तहमा पुगेको र हस्ताक्षर नै सङ्कलन गरेर राखिएको उल्लेख गरिएका छन् ।

त्यसबारे बुझ्दा कोशी प्रदेश सभाका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, “सरकार परिवर्तनकै प्रयास गर्ने, मुख्यमन्त्रीजीको विकल्प खोज्ने तहमा पुगेका छैनौँ । त्यसबारे औपचारिक छलफल पनि भएको छैन । तर, कतिपय साथीहरूले त्यो कुरा उठाउनुभएको छ औपचारिकरूपमा, अनौपचारिकरूपमा । तर, अहिल्यै नै चाहिँ सरकारको विकल्प खोज्ने तहमा पुगेका छैनौँ ।”

कोशीमा ल्याइएको अध्यादेशको चौतर्फी आलोचना, प्रदेशको व्ययभार बढ्ने

दलको कार्यालयमा खाली पन्नामा राखिएको सांसदहरूको हस्ताक्षरबारे जिज्ञासा राख्दा उनी भन्छन्, “दलको कार्यालयमा त हामीले सांसदहरूको हस्ताक्षर राखिरहन्छौँ । कहिले चाहिनसक्छ थाहा हुँदैन । त्यसबेला को कहाँ, को कहाँ पुगिरहेका हुन्छन् । त्यसकारण दलको कार्यालयमा हामीले राखिरहन्छौँ हस्ताक्षर । जस्तो अस्ति पनि राखेका थियौँ, मुख्यमन्त्रीजीको पक्षमा प्रयोग गरियो ।”

तर, मुख्यमन्त्री कार्कीको कदमप्रति आफूहरू सन्तुष्ट नभएको उनले बताएका छन् । “अझ पछिल्लो अध्यादेश ल्याएपछि त मुख्यमन्त्रीजीसँग हामी सहमत छैनौँ । तर, विकल्प नै खोज्ने कुराचाहिँ हुँदैन । त्यो कुरा यत्तिकै हुने कुरा होइन,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved