बीआरआई छिटो अघि बढाउन एमाले महासचिवको माग

नेपालभ्युज

बीआरआई छिटो अघि बढाउन एमाले महासचिवको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तर्गतका परियोजना छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूबिचको छलफलका क्रममा उनले यस्तो बताए ।

बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरू पछि परेको उनको भनाइ थियो । परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै महासचिव पाेखरेलले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको उल्लेख गरे । उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।

उनले बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमा नाकाहरू नियमित सुचारु गर्न पनि आग्रह गरे ।

‘चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इन्सेटिभको अङ्ग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनुपर्दछ । विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छ । यसमा विलम्ब नगरीकन परियोजनाहरूको छनोट, तिनको शीघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ’ उनले भने, ‘ बीआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको छ । आजको प्रविधि र विकासको युगमा अति नै महत्त्वपूर्ण छ ।’

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउन सके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने बताए । उनले चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरू छिटो कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved