सम्झौताको आठ वर्षपछि नेपाल चीन पारवाहन सम्झौता कार्यान्वयन 

नेपालभ्युज

सम्झौताको आठ वर्षपछि नेपाल चीन पारवाहन सम्झौता कार्यान्वयन 

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला २०७२ चैतमा चीनसँग भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । नेपाल–चीन पारवाहन सम्झौता गरेर ठुलो उपलब्धि भएको भनिए पनि सम्झौता भएको ८ वर्षसम्म कार्यान्वयन हुन सकेको थिएन ।

नेपालले चीनसँग पारवाहन सम्झौतामा यातायात तथा पारवहन  प्रोटोकलमा हस्ताक्षर गरे पनि सुविधा लिन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । तर, बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबिच नेपाल चीन पारवहन यातायात सम्झौता कार्यान्वयनको पहिलो निर्यातको शुभारम्भ भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले संयुक्तरूपमा शुरुवाते गरेका हुन् । उनीहरूले नेपालबाट चीन हुँदै तेस्रो मुलुक जापानमा पठाउन लागिएको सामानको रिबन काटेर शुभारम्भ गरे ।

नेपाल भूपरिवेष्टित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरू निर्यात गर्ने गरिएको थियो तर अब चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्न सामुन्द्रिक किनारसम्म पहुँच पाएको छ ।

नेपालको अहिलेसम्म भारतीय भूमि प्रयोग नगरी समुन्द्रसम्म पहुँच थिएन तर अब चीनसँगको पारवाहन सम्झौता कार्यान्वयन आएसँगै नेपालले भारतको सामुन्द्रिक पहुँच कुरिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ । तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा भारतीय परनिर्भरता कम गर्न उत्तरी छिमेकी चीनसँग पारवाहन सम्झौता तत्कालीन सरकारले गरेको थियो ।

चीन हुँदै नेपालले थप सामुन्द्रिक पहुँच हुँदा व्यापारिक क्षेत्रले नयाँ फड्को मार्ने अपेक्षा साकार हुने अवस्था आएको छ । निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनसँगै तेस्रो मुलुकसँगको व्यापारको बाटो खुला भएको बताए ।

उनले सम्झौता कार्यान्वयनको लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको निर्यात, आयात मन्त्रालयको गहन भूमिका रहेको बताए । उनले नेपाल चीनको पुरानो सम्बन्ध रहेको भन्दै व्यापार तथा विकास निर्माणको क्षेत्रमा सहकार्य गर्दै आएको बताए ।

उनले नेपाल भूपरिवेष्टित मुलुक भएकाले सामुन्द्रिक पहुँच बिस्तारको लागि यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर भएको स्मरण गरे । चीनका राष्ट्र पति सिजिङ पिङको नेपाल भ्रमणपछि चीनले नेपालको आर्थिक र व्यापार विकासमा सहयोग गर्दै आएको उनको भनाई छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले चीनसँगको पारवहन तथा यातायात प्रोटोकलमा हस्ताक्षर पछि कार्यान्वयनमा आउनु नेपालको वैदेशिक व्यापारको लागि कोशेढुङ्गा भएको बताए । चीन हुँदै तेस्रो मुलुकमा पहिलो पटक निर्यात सुरुवात दीर्घकालीन रूपमा जाने विश्वास व्यक्त गरे ।

चीन हुँदै तेस्रो मुलुकसम्म व्यापार पहुँच पुग्दा व्यापार घाटा मात्रै नभएर दिगो विकासको लक्ष्य हाँसिलमा समेत सहयोग पुग्ने उनको भनाई छ । नेपाल—चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले ८ वर्षअघि चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको बताए ।

पारवहन सम्झौता कार्यान्वयन भएसँगै चीनको समुन्द्र हुँदै पहिलो पटक जापान निर्यात सुरु भएको र चीन हुँदै तेस्रो मुलुकमा नेपाली सामान निर्यात गर्नको लागि ढुवानी सस्तो पर्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved