सुदुरपश्चिम प्रदेशसभाको ६ वर्ष पुरा, व्यवस्थाविरुद्ध प्रहार भईरहेको आरोप

नेपालभ्युज

सुदुरपश्चिम प्रदेशसभाको ६ वर्ष पुरा, व्यवस्थाविरुद्ध प्रहार भईरहेको आरोप

धनगढी । सुदुरपश्चिम प्रदेशसभा स्थापनाको ६ वर्ष पुरा भएको छ । २०७४ साल माघ ६ गते स्थापना भएको प्रदेशसभाले ६ वर्ष पुरा गरेको हो । प्रदेशसभाको ६ वर्षे अवधीमै संघीयता विरुद्ध प्रश्न उठ्न थालेको भन्दै प्रदेशसभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

देशलाई संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गरेको छोटो समयमै यसका विरुद्ध आवाज उठ्नु गलत भएको ठम्याउँदै प्रदेशसभा सदस्यहरुले व्यवस्था विरोधीका विरुद्ध राजनितिक दल एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । स्थापनाको ६ वर्ष पुरा भइरहेका बेला संघीयता विरुद्ध उठिरहेका आवाजले नेतृत्वहरुलाई पिरोलिरहेको छ । प्रदेशसभाको ६ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले व्यवस्था विरुद्ध उठेका प्रश्नबारे चिन्ता व्यक्त गरेका छन् ।

व्यवस्था ल्याउनकै लागी गरेको १० वर्षे जनयुद्धलाई असफल पार्न केही तत्व लागेको प्रदेशसभा सदस्य अक्कल रावलले बताए । हामीले लामो संघर्षपछि यो व्यवस्था ल्याएका हौँ उनले भने “पहिलो कार्यकालमा यसको जग बसालेका छौँ र धेरै कानुनपनि निर्माण गरेका छौँ, ति कानुनको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रो हो, हामीले आफ्ना क्रियाकलाप सुधार्नुपर्छ र सामान्य घटनाक्रमबाट विचलित हुनुहुँदैन, केही व्यक्तिका  कारण व्यवस्थामाथी प्रश्न उठिरहेका छन्, यो राम्रो होइन ति आवाज विरुद्ध हामी एक हुनुपर्छ, हामीले ल्याएको व्यवस्था जोगाउने जिम्मा पनि हाम्रै हो । ”

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले भने “प्रदेशसभा स्थापनाको यति छोटो समयमै प्रदेश खारेजी सम्मका आवाज उठ्नु गलत हो, यति छोटो समयमै प्रदेशको मुल्याकंन गर्न मिल्दैन, तर हाम्रा बानी,  व्यवहार सुधार्न भने अति आवश्यक छ ।”

उनले आफुहरुले लडेर ल्याएको व्यवस्थाकै  कारण जनताको घर आगनमा सरकार पुगेको दावी गर्दै यसको रक्षा गर्ने दायित्व सबै राजनितिक दलले लिनुपर्नेमा जोड दिएका हुन् । ‘यो व्यवस्थालाई उल्ट्याएर फेरी जनताका अधिकार कुल्चिन खोजिदै छ हामीले त्यसको प्रतिकार गर्न सक्नु पर्छ, उनले भने ।’

नेकपा एकिकृत समाजवादी दलका नेता दीर्घ सोडारीले भने “हामीले काम नगरेको होइन, मात्रै फेसबुक र युटुबमा प्रचार गर्न नसकेका हौँ, बैतडीको तल्लोसोराड, पुर्चौँडी, बानुराको कोल्टी, अछामको विकट क्षेत्र, डडेल्धुराको जोगबुडा लगायतका दुर्गम ठाउँमा प्रदेशका ठुला योजना अहिलेपनि लागु छन्, धनगढीको मुख्य सडक प्रदेश सरकारकै लगानीमा निर्माण हुँदैछ ।’ उनले अगाडी भने, ‘करोडौँका ठुला देखी लाखौँका साना योजना प्रदेश आएपछिनै लागु भएका छन्, त्यो भन्दा अघी किन आएनन्, त्यो सोच्नुपर्ने छ, अनी कसैको भनेकै आधारमा प्रदेशलाई गलत भन्न मिल्दैन, हामीले लडेर ल्याएको व्यवस्था कसैको उक्साहटमा बदलिन्छ भन्न सुहाउँदैन ।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि व्यवस्थाविरुद्ध उठेका आवाज विरुद्ध एक हुनुपर्नेमा जोड दिएको छ । वर्तमान नेतृत्वबाट सरकार सञ्चालनमा भएको कमी कमजोरीकै कारण व्यवस्था विरुद्ध आवाज उठिरहेको एमालेले जनाएको छ । सरकारले कामको गती बढाउन नसक्नुकै कारण व्यवस्था विरुद्ध प्रश्न उठेको एमाले नेता राजेन्द्र रावलले बताए । सरकारको नेतृत्वकर्ता नसच्चिदासम्म व्यवस्था विरुद्धका प्रश्न नरोकिने उनको तर्क छ ।

रावलले प्रदेश सरकारका कारण संघीयता र गणतन्त्र कमजोर भइरहेको बताए । उनले सरकारका मन्त्रालयमा बुख्याचाहरु प्रवेश गरेको आरोप लगाए । यता सरकारले भने पहिलो कार्यकालमा संघियताको जग बसाल्न सफल भएको दावी गरेको छ । पहिलो वर्ष चालु भएका योजनाको निरन्तरता र थप जनतासँग जोडिने गरी नयाँ योजना लागु भएको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिहं धामीले बताए।

उनले सरकार केही कानुन संसोधन गरी समय सापेक्ष रुपमा गती बढाउने तिर केन्द्रित रहेको दावी गरे । सुदुरपश्चिममै हजारौँ रोजगारी श्रृजना गर्ने उद्देश्यले आयोजना हुने लगानी सम्मेलनको तिब्र तयारीमा सरकार लागिरहेको उनले बताए । सरकार नतिजा दिने गरी काम गरिरहेको धामीले बताए ।

प्रदेशसभा स्थापना दिवश कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए । प्रदेश प्रमुख जोशीले अगाडि भएका जनप्रतिनिधिले संविधानअनुसार सही बाटो देखाए व्यवस्था समेत बलियो हुने बताए ।

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, नागरिक उन्मुक्ती पार्टीका टीकादेवी थापालगायतले प्रतिगामीहरुले सङ्घीयताको विरोध गरेको, आफूहरुले यो विचमा भएका कामबारे जनतालाई बुझाउन नसकेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved