नयाँ शक्ति निर्माण गर्दैछन् राजेन्द्र महतो !

यता संस्थापन पक्षले भने हल्ला गरिएजस्तो पार्टीभित्र समस्या नरहेको बताउँछ । तर, अध्यक्ष ठाकुरले गरेको पछिल्लो पार्टी पुनर्गठनबाट भने अधिकांश नेताहरू असन्तुष्ट छन् । 

नेपालभ्युज

नयाँ शक्ति निर्माण गर्दैछन् राजेन्द्र महतो !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा खुसी छैनन् ।

अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीमा निष्क्रिय बनेका महतोले गत मंसिर २४ गते बसेको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए । अध्यक्ष ठाकुरले आफूखुसी पार्टी पुनर्गठन तथा विस्तार गरेको, पार्टीमार्फत प्राप्त हुने अवसरमा आफ्नै गोजीका मान्छेहरू राखेको, पार्टी पूरै एकलौटी ढङ्गले चलाएको भन्दै महतो पार्टीमा पूरै निष्क्रिय छन् ।

पार्टीको काम/कारबाहीमा सहभागी हुनको साटो उनी भारत गएका थिए । उनी भर्खरै फर्किएका छन् । भारतमा उनले विभिन्न नेताहरूसँग भेटघाट गरेका छन् । भारतबाट फर्किएपछि महतो उत्साहित रहेको उनीनिकट नेताहरू बताउँछन् ।

उनीनिकट एक नेता भन्छन्, “उहाँ  (राजेन्द्र महतो) उत्साहित हुनुहुन्छ । उहाँ अझै लोसपमा रहने सम्भावना निकै न्यून छ । उहाँले नयाँ तवरले अगाडि बढ्न खोज्दै हुनुहुन्छ, त्यसका लागि छलफलरत हुनुहुन्छ ।”

त्यसो त महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामको आन्दोलनको तयारी गरिरहेका छन् । मोर्चा पछि पार्टीका रूपमा पनि अघि आउनसक्ने ती नेता बताउँछन् । “अहिले मोर्चाका रूपमा अगाडि आउनेछ एउटा अभियान । त्यसको सुरुवात माघभित्रै हुन्छ । पछि त्यही पार्टीका रूपमा अगाडि आउँदैन भन्न सकिँदैन,” उनले भने ।

त्यसो त प्रावधानत: तत्कालै पार्टी विभाजन गर्न मिल्दैन । दल विभाजनसम्बन्धी प्रावधान राखिएको राजनीतिक दलसम्बन्धी ऐन-२०७३ अहिले निष्क्रिय अवस्थामा छ । संसदीय प्रक्रियामार्फत नै ब्युँताउनेपर्ने भएकाले सरकारले सङ्घीय संसद्‌‌मा पठाउने निर्णय गरेको छ ।

अब त्यसपछि पुन: दल विभाजनका लागि केन्द्रीय र संसदीय दुवै समितिमा ४०-४० प्रतिशत पुर्‍याउनुपर्छ । तर, महतोनिकट नेताहरू भने आफूहरू त्यही प्रावधानअनुरूप नै भएपनि पार्टी निर्माण गर्ने बताउँछन् ।

लोसपामा रमिता : पदाधिकारी ६३ सदस्यीय, महासचिव नै १६ जना (सूचीसहित)

यद्यपि अध्यक्ष ठाकुरले पार्टी पुनर्गठन गर्दा आफूपक्षीय नेताहरू मात्रै राखेका छन् । तर, महतोनिकट नेताहरू पार्टी नै फुटाउन नमिले पनि गठन गर्न कसैले र केहीले नरोक्ने बताउँछन् । पार्टीभित्र आफूसँग रहेको शक्तिलाई जगेर्ना गरेर राख्नलाई मोर्चा बनाएको ती नेताहरू बताउँछन् ।

महतो स्वयम् पनि लोसपा पार्टीजस्तै नभएको टिप्पणी गर्छन् । अब यो पार्टी समाप्त हुने दिशातिर गएको उनको भनाइ छ ।

“पार्टी पार्टीजस्तो नभएपछि किन सक्रिय हुने ? अब मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ । राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ,” उनले भने ।

यता संस्थापन पक्षले भने हल्ला गरिएजस्तो पार्टीभित्र समस्या नरहेको बताउँछ । तर, अध्यक्ष ठाकुरले गरेको पछिल्लो पार्टी पुनर्गठनबाट भने अधिकांश नेताहरू असन्तुष्ट छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved