लोसपामा रमिता : पदाधिकारी ६३ सदस्यीय, महासचिव नै १६ जना (सूचीसहित)

अध्यक्षले आफूखुसी पार्टी पुनर्गठन गरेको भन्दै नेताहरू असन्तुष्ट

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मंसिर २४ गते बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरे । पछिल्लोसमय उनी सार्वजनिकरूपमा त्यत्ति देखिँदैनन् पनि ।

नेपालभ्युज

लोसपामा रमिता : पदाधिकारी ६३ सदस्यीय, महासचिव नै १६ जना (सूचीसहित)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूखुसी पार्टी पुनर्गठन तथा विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले गत असोज ८ गते नै पार्टी पुनर्गठन गरेको एक नेताले नेपालभ्यूजलाई बताए ।

अध्यक्ष ठाकुरले आफूखुसी पार्टी पुनर्गठन गरेपछि पार्टीका नेताहरू रिसाएका छन् । उनीहरूले अध्यक्ष ठाकुरले पार्टीमा ‘मोनोपोली’ लादेको बताउँछन् ।

असोज ८ गते पुनर्गठित पार्टीमा पदाधिकारी मात्रै ६३ सदस्यीय छ । राजेन्द्र महतो, शरत्‌सिंह भण्डारी र अनिलकुमार झालाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ भने सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह-अध्यक्षको दर्जा दिइएको छ ।

यस्तै पदाधिकारीमा ६ जना वरिष्ठ उपाध्यक्ष छन् । ६ वरिष्ठ उपाध्यक्षहरूमा जितेन्द्र प्रसाद सोनार, उमाकान्त झा, अकवाल अहमत शाह, लक्ष्मणलाल कर्ण, निर्जला राउत र प्रदीप नारायण यादव छन् ।

१२ जना उपाध्यक्ष छन् भने १६ जना महासचिव मात्रै छन् । पहिलो वरीयताका महासचिवमा परमेश्वर साह छन् । कोचाहिँ कार्यकारी महासचिव हुन् ? भन्ने नेपालभ्यूजको जिज्ञासामा महासचिवकै जिम्मेवारी पाएका एकजना नेता भन्छन्, “अध्यक्षजीलाई नै सोध्नुपर्छ, उहाँलाई नै थाहा होला । मलाई पनि महासचिवको जिम्मेवारी दिइएको छ । तर, मैले आफूलाई महासचिव भनेको छैन, होजस्तो पनि लाग्दैन । काम गरेको पनि छैन । यसरी पार्टी चल्दैन ।”

अध्यक्षले ‘मनोपोली’ ढङ्गबाट पार्टी पुनर्गठन गरेको ती नेता बताउँछन् । “सबैलाई रिझाउन, सबैको चित्त बुझाउन र सबैलाई भाग पुर्‍याउनका लागि यसरी गर्दा पार्टीको विश्वासनीयतामाथि नै प्रश्न उठिरहेको छ । अध्यक्षजीले पार्टीको छविलाई नै धुमिल पार्नुभयो आफूखुसी पार्टी पुनर्गठन गरेर,” ती नेता थप्छन् ।

महासचिवकै जिम्मेवारी पाएको अर्को नेता पार्टीमा भाँडभैलो भइरहेको बताउँछन् । “अध्यक्षजीको यो नाटकले गर्दा पार्टीमा भाँडभैलो भइरहेको छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ भएको छ । यसको जिम्मा स्वयम् अध्यक्षजीले नै लिनुपर्छ । पार्टी रहनुपर्छ र बलियो हुनुपर्छ, कुरा यत्ति हो,” ती नेता भन्छन् ।

सबैलाई भाग पुर्‍याउन खोज्दा पदाधिकारी ६३ सदस्यीय बनेको उनी स्वीकार्छन् । यसकै कारण अहिले पार्टी फुटको सङ्घारमा पुगेको स्वीकारोक्ति ती नेताको छ । “यसबीचमा पार्टी फुटको सङ्घारमा पुगेको छ । अध्यक्षजीको मनोमानी कति सहने भनेर साथीहरू तातिनुभएको छ । पार्टी फुट्न बेर लाग्दैन,” उनले भने ।

पदाधिकारीमा सह-महासचिव मात्रै ८ जना छन् । जबकी अहिलेसम्म सह-महासचिव भन्ने पद नै खासै प्रयोगमा छैन । तर, भागबन्डा मिलाउनका लागि अध्यक्ष ठाकुरले आफैँ पद सिर्जना गरेका छन् ।

उनले ११ जना सचिव बनाएका छन् भने आभास लाभलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका छन् । पुनर्गठित पार्टीमा ३११ जना केन्द्रीय समितिमा छन् ।

पार्टी फुटाउन चाहन्छन् राजेन्द्र महतो ?

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मंसिर २४ गते बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरे । पछिल्लोसमय उनी सार्वजनिकरूपमा त्यत्ति देखिँदैनन् पनि ।

उनी पार्टी पार्टीजस्तो नभएपछि आफू सक्रिय नभएको बताउँछन् । “पार्टी पार्टीजस्तो नभएपछि किन सक्रिय हुने ? अब मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ । राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ । त्यसमै काम गरिरहेको छु । पार्टीमा सक्रिय छैन,” नेता महतोले भने ।

स्रोतका अनुसार नेता महतो नयाँ राजनीतिक शक्ति निर्माणको प्रयासमा छन् । अध्यक्ष ठाकुरले पार्टी पुनर्गठन गर्दा आफ्नो गोजीका मात्रै मान्छे राखेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उनी पार्टी फुटाउन चाहन्छन् । उनीनिकट एक नेता भन्छन्, “उहाँ (राजेन्द्र महतो) लोसपामा रहने सम्भावना निकै न्यून छ । उहाँले नयाँ तवरले अगाडि बढ्न खोज्दै हुनुहुन्छ, त्यसैका लागि काम गर्दै हुनुहुन्छ ।”

स्रोतले बताएअनुसार नेता महतो लोसपाका आफू समर्थित नेताहरू लिएर नयाँ पार्टी बनाउने निर्णयमा पुगिसकेका छन् । त्यसका लागि कानूनी तथा राजनीतिक बाटो खुल्ला छन् त ? भन्ने प्रश्नमा ती नेता भन्छन्, “त्यसकै बारेमा अध्ययन गरिँदैछ ।”

हेर्नुस् पदाधिकारी तथा केन्द्रीय समितिमा को-को छन् ?

   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved