पाँच महिनामा १ लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्ज भ्रमण 

नेपालभ्युज

पाँच महिनामा १ लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्ज भ्रमण 

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरूका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोँस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसै गरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरीसृप तथा उभयचर, बर्साइसंरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरेका छन् ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । उनकाअनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

‘चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा १ लाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुनुहुन्छ’, उनले भने ‘राजश्व आम्दानीको हिसाबले  चितवन राष्ट्रिय निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन भएको छ ।’

उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरू अवलोकन गर्न सक्ने अवस्था रहेको बताए । चितवन राष्ट्रिय निकुञ्ज गैँडा,बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved