नाडाको साधारण सभा आज, करण चौधरी आगामी कार्यकालको लागि अध्यक्ष  बन्दै

नेपालभ्युज

नाडाको साधारण सभा आज, करण चौधरी आगामी कार्यकालको लागि अध्यक्ष  बन्दै

काठमाडौं। आगामी कार्यकालको लागि नेतृत्व छनोट गर्न अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४७ औँ साधारण सभा आज शुक्रबार हुँदैछ।

नेपालभरका अटो व्यवसायीहरूको सहभागिता रहने साधारण सभा काठमाडौंस्थित सोल्टीमा होटल हुँदैछ ।

नाडाको आगामी कार्यकालका लागि करण चौधरी अध्यक्ष नियुक्त हुने भएका छन् ।

नाडा अध्यक्षको प्रतिस्पर्धामा चौधरी र आकाश गोल्छा थिए। तर लामो समयको कसरतपछि आगामी कार्यकालको लागि अध्यक्षमा चौधरी नियुक्त गर्ने सहमति भएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भने गोल्छा नियुक्त गर्ने सहमति भएको छ ।

यस प्रकारको सहमतिलाई नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले ऐतिहासिक भएको बताउँदै आएका छन् । उनका अनुसार सहमतिमा अध्यक्ष चुन्न लामो समयदेखि प्रयास भइरहेको थियो ।

थापाका अनुसार नाडाका अन्य सदस्यहरू र पूर्व नेतृत्वकर्ताहरू समेतको उपस्थिति लामो समयको छलफलपछि गत पुस ३ गते आगामी कार्यकालको अध्यक्षमा चौधरी हुने सहमति भएको हो ।

सहमतिसँगै अध्यक्षका आकांक्षी रहेका अन्य उम्मेदवारको व्यवस्थापनको लागि नाडाले आफ्नो विधान नै संशोधन गर्दैछ । अध्यक्ष थापाका अनुसार आगामी तीन महिनाभित्र नाडाले विशेष अधिवेशन बोलाउनेछ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था गरिनेछ ।

अहिलेको सहमति अनुसार गोल्छा विशेष अधिवेसनपछि वरिष्ठ उपाध्यक्ष बन्नेछन्। यसको अर्थ चौधरीपछिको कार्यकालमा गोल्छा स्वतः अध्यक्ष बन्‍नेछन् ।

वर्तमान अध्यक्ष थापाका अनुसार अध्यक्षसँगै नाडाको आगामी कार्यकालको लागि सम्पूर्ण कार्यसमिति टिम समेत निर्विरोध निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved