आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइन विवाद सुल्झाउनुपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइन विवाद सुल्झाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबारबारदेखि चरिकोटमा सुरु भएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरूको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्च स्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र बिस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत् प्राधिकरण र व्यवसायीहरूबिच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उनले यसको तत्काल समाधान गर्न जरुरी रहेको बताए ।

उच्च स्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैँको लागि यस्ता किसिमका समस्याहरूको समाधान आउने पनि उनको भनाइ छ। अहिले मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसकालागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गरेका छन्।

निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरेको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले आम निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved