अपराधलाई प्रश्रय

सन्त नेता किशुनजीको जन्मदिनमा कांग्रेसले बनायो ‘गुन्डा नाइके’लाई मन्त्री, भाउजूको आशिर्वाद

पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएका रोज राणालाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको बलमा मन्त्री बनाइएको हो । तर, रोजको पृष्ठभूमि भने सम्झन लायक छैन ।

नेपालभ्युज

सन्त नेता किशुनजीको जन्मदिनमा कांग्रेसले बनायो ‘गुन्डा नाइके’लाई मन्त्री, भाउजूको आशिर्वाद

काठमाडौं । राजनीतिक दलहरूले जनस्तरका आलोचना बेवास्ता गर्दै सार्वजनिक पद र दलीय जिम्मेवारीमा आपराधिक र विवादास्पद पृष्ठभूमिका व्यक्ति नियुक्ति गर्ने प्रवृत्तिलाई निरन्तरता दिइरहेका छन् ।

उनीहरू सच्चिने मृगतृष्णा पालिरहेका आम नागरिकलाई निराश बनाउँदै फेरि वर्तमान गठबन्धनले विवादित पृष्ठभूमि भएकालाई मन्त्री बनाएको छ ।

राजकाज र दलभित्रका महत्त्वपूर्ण ओहदामा बसेकाबाट आपराधिक एवं अमर्यादित गतिविधि हुँदा पनि उनीहरूलाई कारबाहीको दायरामा नल्याई दलहरूले नै उन्मुक्ति र संरक्षण दिने गरेको आरोप लाग्दै गर्दा दर्जनौँ फौजदारी खेपेका माननीय मन्त्री बनेका छन् ।

‘गुन्डा नाइके’ का रूपमा चिनिएका रोज राणा भनिने सरोज थापालाई पछिल्लो पटक लुम्बिनी प्रदेशमा मन्त्री बनाइएको छ । उनी कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका हुन् ।

पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको बलमा मन्त्री बनाइएको हो । उनी प्युठानबाट प्रदेश सभा ‘ख’ बाट विजयी भएका थिए ।

सत्ता गठबन्धनकै प्रभावशाली नेतृ आरजु राणाको जोडबलमै मन्त्रालय फुटाएरै उनी मन्त्री बनेका हुन् । कानुनतः सांसदलाई मन्त्री बन्न भने अड्चन छैन । तर, उनको पृष्ठभूमि भने सम्झन लायक छैन ।

गुन्डागर्दी, हप्ता असुलीदेखि चेलीबेटी बेचबिखनका अनेक मुद्दा झेलेका थिए । सत्ता र शक्तिको दबाबमा उनले केही मुद्दामा उन्मुक्ति पाउँदै आएका थिए ।

अपराधबाट बच्न राजनीतिमा लागेका उनी छोटो समयमै मन्त्री बन्न सफल भए । तर, सार्वजनिक ओहदामा बस्ने व्यक्ति उच्च नैतिक आचरणयुक्त हुनुपर्नेमा ‘फौजदारी मुद्दामा’ सजाय भुक्तान गरेकालाई मन्त्री बनाइनु आफैँमा लज्जास्पद छ ।

गुण्डागर्दी पृष्ठभूमिबाट आएकालाई एकाएक मन्त्री बनाएपछि सरकारको नेतृत्व गरेको कांग्रेससँगै सत्तारुढ दलभित्र चर्को आलोचना सुरू भएको छ । तर, कांग्रेस नेतृत्व चुपचाप बसेको छ ।

मन्त्रालय फुटाएर मन्त्री थपेको र मन्त्री छनोट गर्दा समन्वय नगरेको भन्दै कांग्रेसको संस्थापन इतर समूहले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएको छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘‘यस्तो विवादित पृष्ठभूमि भएका सांसद थापालाई कांग्रेसको केन्द्रका संस्थापन पक्षका नेताहरूको दबाबमा मन्त्री बनाइएको हो, पार्टीमा लामो समयदेखि दुःख गरेकाहरूलाई पन्छाएर मुख्यमन्त्री चौधरीले थापालाई मन्त्री बनाउँदा पार्टीभित्र पनि असन्तुष्टि बढेको छ ।’’ कांग्रेस संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को जन्मजयन्तीकै दिन नै ‘गुन्डा नाइके’लाई मन्त्री बनाइएको भन्दै सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

यस्तो छ रोज राणाको पृष्ठभूमि

राजनीतिमा आउनुअघि रोजमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा लागेका थिए । त्यही आरोपमा उनी पटक–पटक पक्राउ परेका थिए । कतिपयमा सफाइ पाए पनि केहीमा दोषी ठहर भएका थिए ।

काठमाडौं प्रहरीको रेकर्ड अनुसार, उनीमाथि १२ वैशाख २०६७ सालमा सरिता सिवाकोटीले मानव बेचबिखन मुद्दामा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा १३ वैशाखमा उनी पक्राउ परेका थिए ।

उनी थुनामै रहेका बेला प्रहरी वृत्त महाराजगन्जमा अर्को जाहेरी परेको थियो । उनीविरुद्ध शुष्मा श्रेष्ठ, सामना लामा र निकिता लामाले जाहेरी दिएका थिए ।

उनले बागबजार, कालीमाटी, ठमेल क्षेत्रमा ‘शो गर्ल्स’ डान्सबार सञ्चालन गरेका थिए । उनीमाथि युवतीलाई नग्न डान्स गर्न लगाउने गरेको आरोप लागेको थियो ।

तत्कालीन समयमा रोज राणाविरुद्ध परेको जाहेरी

त्यही आरोपमा उनीमाथि चेलीबेटी बेचबिखन मुद्दा चलाउनुपरेको जानकारी अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

उक्त मुद्दामा उनी करिब ६ महिना जेल समेत बसेको ती अधिकारीले बताए । २०५९ असोज १६ गते प्युठान जिल्लामा सार्वजनिक अपराध मुद्दामा उजुरी परेको थियो । कैलाश बस्नेतले उनीविरुद्ध उजुरी दिएका थिए । पछि मानव बेचबिखन मुद्दामा भने उनले सफाइ पाए ।

त्यसपछि पनि उनीमाथि गुण्डागर्दीको दुनियाँमा चर्चामा रहेका धादिङका दिनेश अधिकारी चरीसँग निकट रहेर काम गरेको आरोप लागेको थियो ।

चलचित्र निर्माताका नाममा गुण्डागर्दी गर्ने गरेको आरोप उनीमाथि थियो । २०७१ साउनमा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि भने प्रहरीबाट जोगिन राजनीतिको फेरो समात्दै कांग्रेस तरुण दलमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

पहिले उनी प्रहरीकै इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ घैँटेको समूहमा थिए । सोही समूहमा विवाद बढ्दै गएपछि चरी समूहकै दुई सदस्यले भदौ २०७३ मा बानेश्वरमा उनीमाथि खुकुरी प्रहार गरेका थिए ।

उक्त आरोपमा प्रहरीको तत्कालीन अपराध महाशाखाको टोलीले भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र धादिङका कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानले प्रजापति र लामाले चरीसँगको विवादका कारण पिछा गर्दै मध्यबानेश्वरमा खुकुरी प्रहार गरेको खुलेको थियो । उनीमाथि आक्रमण गर्न चरी समूहकै अर्को सदस्य जोधा भन्ने रत्नबहादुर लामाले योजना बनाएको खुलेको थियो ।

चलचित्र निर्माण, डान्सबार र रेस्टुरेन्टदेखि अन्य व्यवसायमासमेत रोजले चरीकै पैसा चलाउने गरेको प्रहरीको दाबी छ ।

पछि प्रहरीबाट बच्न उनी प्युठान कांग्रेसबाट तरुण दलको क्षेत्रीय सभापति बने । चलचित्र निर्माता भएर उनले दोस्ती, खलनायक जस्ता आधा दर्जन चलचित्र बनाएका छन् ।

यसअघि आपराधिक पृष्ठभूमिकै राजीव गुरुङ उर्फ दीपक मनाङे समेत गण्डकी प्रदेशका मन्त्री बनिसकेका छन् ।

२०७४ मा एमालेको समर्थनमा दीपक मनाङे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री बनेका थिए । मनाङे हाल पनि गण्डकी प्रदेश सभा सांसद छन् ।

राजनीति र अपराधको डरलाग्दो दुष्चक्र

खराब पृष्ठभूमि भएकालाई मन्त्री बनाइनु राजनीतिक दलहरू विनाशको अवस्थातर्फ उन्मुख भएको तर्क छ वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीको ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत रहेका उनी भन्छन्, ‘‘अपराध र राजनीति चिनी र पानी घुलेर बनेको सर्बत जस्तो छ। राजनीतिबाट अपराध छुट्टाउन कठिन छ । अपराधपूर्ण राजनीतिकै कारण मुलुकको दुर्दशा भएको हो । यसविरुद्ध नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलका केही जिम्मेवार र इमानदार कार्यकर्ता अभियानका रूपमा अघि बढ्नुपर्छ ।’’

आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री – सांसदलगायतका सार्वजनिक पद सुम्पिँदा उनीहरूको सुरक्षा र काममा खटिने सुरक्षाकर्मी एवं कर्मचारीमै हीनताबोध हुने गरेको छ ।

आपराधिक गतिविधि गर्नेहरू आफ्नो सुरक्षा गर्न राजनीतिमा आउने भएकाले चेपुवामा सुरक्षा निकाय र निजामती कर्मचारी पर्ने नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल बताउँछन् ।

‘‘हिजो पक्राउ गरेर हतकडी लगाएर जेल पठाएको मान्छेसँग सुरक्षाका कर्मचारीले कसरी सहकार्य गर्नु ? हिजो आफैँले मुद्दा चलाएको छ, त्यो व्यक्तिसँग निजामती प्रशासनले के काम गर्ने ? अपराध गरेको व्यक्ति मन्त्री-सांसद भएर आएपछि देखावटी रूपमा भए पनि हजुर, भन्नै पर्‍यो, जय नेपाल-नमस्कार गर्नैपर्यो तर आत्माले त मानिरहेको हुँदैन’’ मल्ल भन्छन्, ‘‘‘अपराधमा सजाय भुक्तान गरेको व्यक्तिलाई मन्त्री बनाउनुमा पैसा लिएर पद बिक्री गरेको हुन सक्छ । होइन भने मन्त्रालय फुटाएरै किन बनाउनुपर्याे ? जबसम्म अपराध र भ्रष्टीकरणको मलजल भइरहन्छ, सुशासन, कानुनको पालना र विधिको शासन निकै परको कुरा हो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved