पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी, अध्ययन हुँदै

नेपालभ्युज

पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी, अध्ययन हुँदै

कास्की । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन तयारीमा जुटेको छ ।

पर्यटन विज्ञसहितको सो अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो ।

‘समितिको पहिलो बैठकबाट पर्यटकीय राजधानी घोषणाको अवधारणा र अध्ययन प्रतिवेदनको मस्यौदा तयार ग¥र्यौं’, अध्ययन समितिका अध्यक्ष डा देवकोटाले भने, ‘समितिको पछिल्लो बैठकले प्रतिवेदनमा समेटिने विषयवस्तुको टुङ्गो लगाएको छ, सरोकारवालाहरुसँगको थप छलफलपछि अध्ययन प्रतिवदेनलाई अन्तिम रुप दिन्छौँ ।’

समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई यही पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिने उनले बताए । ‘पर्यटनमन्त्री, सचिवलगायत मन्त्रालयका पदाधिकारी पनि यस कार्यमा तल्लीन भएर लाग्नुभएको छ, पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटिन्छ’, अध्ययन समितिका अध्यक्ष डा देवकोटाले भने ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न समितिले अध्ययन थालेको उनको भनाइ छ ।

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने सम्बन्धमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसअघि तयार पारेको अवधारणापत्रलाई आधार मानेर समितिले थप अध्ययनको काम गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved