क्रिश्चियानिटीको विश्वास र क्रिसमसको रोचक कथा

येशू जन्मे/नजन्मेको प्रष्ट गर्न राजा हेरोदले केही ज्योतिषलाई बेथलेहम पठाएका थिए । तर, ज्योतिषले यो खबर राजाबाट लुकाए । उल्टै उनीहरूले राजा हेरोदको कुचेष्टाबारे यूसुफ र माता मरियमलाई बताए । हेरोदबाट येशूको हत्या हुन सक्ने आशंकाले माता मरियम र यूसुफ शिशुलाई लिएर मिस्र भागे । ज्योतिषबाट धोका पाएर रिसाएका हेरोदले बेथलेहेमका २ वर्ष मुनिका सबै बच्चा मार्न लगाए ।

नेपालभ्युज

क्रिश्चियानिटीको विश्वास र क्रिसमसको रोचक कथा

डिसेम्बर २५ मा प्रत्येक वर्ष इसाई धर्मावलम्बीले विश्वभर क्रिसमस मनाउँछन् । क्रिश्चियन धर्मावलम्बीका लागि यो सबैभन्दा ठूलो चाड हो । इसाई धर्मका संस्थापक जिसस क्राइष्टको जन्मदिनका रूपमा क्रिसमस मनाइन्छ ।

इसाई संसारको सबैभन्दा ठूलो धार्मिक समुदाय हो । विश्वभरि कम्तीमा ३० प्रतिशत अर्थात् करिब २ खर्ब ४० अर्ब मानिस इसाई धर्मावलम्बी छन् । यसका मुख्य दुई हाँगा हुन्छन्—रोमन क्याथोलिक र प्रोटेस्टेन्ट ।

क्रिश्चियन विश्वासअनुसार डिसेम्बर २५ मा मदर म्यारी वा माता मरियमको कोखबाट बेथलेहममा जिसस क्राइष्टको जन्म भएको थियो । माता म्यारीले यूसुफसँग विवाह गरेकी थिइन । उनीहरू दुवै नजारिथका बासिन्दा थिए । तर, माता म्यारीले यूसुफबाट हैन, ‘पवित्र आत्मा (होली स्प्रिट) बाट गर्भधारण गरेको बताइन्छ । उनी ‘कुमारी आमा’ थिइन् । यूसुफ जिसस क्राइष्टका कानूनी पिता थिए । क्राइष्ट भने ‘भगवान्‌का छोरा’ का रूपमा रहेको क्रिश्चियन समुदायको विश्वास छ ।

इसाई त्रियेक (ट्रिनिटी) को सिद्धान्तमा ‘फादर, सन र होली स्प्रिट’ तीन तत्त्व हुन्छन् । जसअनुसार फादर-स्वयम् भगवान् हुन् । भगवान्‌का छोरा जिसस क्राइष्ट हुन् र, ‘होली स्प्रिट’ एक तेस्रो अस्तित्वका रूपमा विश्वास गरिन्छ, जसले ‘फादर’ र ‘सन’ को बीचमा संक्रमणलाई संकेत गर्दछ । त्यही मान्यताअनुसार जिसस क्राइष्ट भगवान्‌का छोरा थिए । तर, जिससकी आमा मरियम भने भगवान्‌बाट हैन, भगवान्‌को इच्छाले ‘होली स्प्रिट’ बाट गर्भवती भएकी थिइन् ।

क्रिश्चियन धर्म ग्रन्थकाअनुसार पवित्र आत्माबाट मरियमको गर्भ बसेपछि यूसुफलाई शंका भएको थियो । उनी मरियमलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विविधामा थिए । उनले एक दिन सपनामा प्रभुको आदेश पाए । मरियमको गर्भबाट जिसस क्राइष्टको जन्म हुँदैछ, यिनको नाम येशू राख्नु भन्ने प्रभुको सन्देश भयो । त्यसपछि यूसुफले मरियमको गर्भ स्वीकार गरे । जिससको जन्म नहुञ्जेल उनीहरू बीच यौन सम्पर्क भएन ।

यहुदीहरूको पुरानो बाइबलमा कुनै दिन ‘भगवान्‌को जन्म हुने’ विश्वास लेखिएको थियो । र, उनको जन्म कुमारी आमाबाट हुने भविष्यवाणी थियो । माता मरियम र यूसुफ यहुदी थिए । मरियमको कोखबाट जन्मिएका जिसस क्राइष्टलाई नै क्रिश्चियन समुदायले भगवानका रूपमा विश्वास गर्दछ ।

तर, यहुदीहरू भने आज पनि आफ्नो भगवान्‌को जन्म पर्खिरहेका छन् । आफ्नो बाइबलले भनेको व्यक्ति जिसस क्राइष्ट हुन् भन्ने यहुदीहरु विश्वास गर्दैनन् । यही कारणले यहुदी र इसाई फरक-फरक धर्म भएका हुन् ।

जिसस जन्मिएको दिन यूसुफ र मरियम बेथलेहेममा आफन्त दाउद कहाँ गएका थिए । त्यहाँ उनीहरूले राम्रो घर वा पौवाको बास पाएनन् । उनीहरू घोडाको तबेलामा बसे । त्यही जिसस क्राइष्टको जन्म भयो । र शिशु जिससलाई माता मरियमले लुगाले बेरेर डुँडमा राखिन् ।

त्यो समयमा यहुदीयाका राजा हेरोद थिए । उनी यहुदी बाइबलमा लेखिएको मुक्तिदाताको जन्म हुने भविष्यवाणीबाट हैरान थिए । यहुदीयाको राजधानी शहर जेरुसेलम थियो । जेरुसेलमस्थित हेरादको दरबारमा जिससको जन्मबारे अनेक अनुमान लगाइएको थियो ।

येशू जन्मे/नजन्मेको प्रष्ट गर्न हेरोदले केही ज्योतिषलाई बेथलेहम पठाएका थिए । तर, ज्योतिषले यो खबर राजाबाट लुकाए । उल्टै उनीहरूले बालक येशूको दर्शन गरे । राजा हेरोदको कुचेष्टाबारे यूसुफ र माता मरियमलाई बताए । हेरोदबाट येशूको हत्या हुन सक्ने आशंकाले माता मरियम र यूसुफ शिशुलाई लिएर मिस्र देश भागे ।

ज्योतिषबाट धोका पाएका हेरोद रिसले चुर भए र उनले बेथलेहेमका २ वर्ष मुनिका सबै बच्चा मार्न लगाए । १२ वर्षको उमेरमा जिसस जेरुसेलममा देखिएका थिए । उनले धार्मिक विचार र उपदेशको प्रवचन गर्न थाले । त्यसबेला ३० वर्ष नपुग्दै धार्मिक उपदेश दिन गैरकानूनी मानिन्थ्यो । तर, जिससका समर्थक र अनुयायी बढ्दै गए । त्यो बेला जेरुसेलम रोमन साम्राज्यको अधीनस्थ थियो । जिससका विचारलाई रोमन साम्राज्यले जनता भट्काउने चुनौतीका रूपमा हेर्न थालेको थियो । पोन्टियस पिलाट त्यो बेला जेरुसेलमका रोमन गभर्नर थिए ।

जिससले आफूलाई ‘भगवान्‌को छोरा’ दाबी गरेका थिए । त्यसबेलाका यहुदी धर्मगुरुहरू पनि जिससको दाबीमा विश्वास गर्दैनथे । उनीहरू कर्मकाण्डमा धेरै विश्वास गर्थे भने जिसस त्यसको विरोधी थिए । त्यसैले धर्मगुरुहरू जिससविरुद्ध एक भएर उत्रिए । उनीहरूले गभर्नर पिलाटलाई पनि पोल लगाए । रोमन साम्राज्यलाई सधै कट्टरपन्थी यहुदी विद्रोहको डर थियो । त्यसैले गभर्नर पिलाट पनि धर्मगुरुहरुको साथमा थिए । उनलाई पनि जिससको कुरामा विश्वास थिएन । त्यसपछि गभर्नर पिलाटले जिससलाई पक्राउ गरी क्रुसिफाई (क्रसमा टाँगेर हत्या) गर्ने आदेश दिए ।

क्रिश्चियानिटी अब्राहमिक परम्पराको धर्म वा विश्वास हो । यही प्रणालीमा यहुदी र इस्लाम धर्म बनेका छन् । यहुदी क्रिश्चियानिटी भन्दा करिब ७०० वर्ष अघिको धर्म हो, इस्लाम भने धेरैपछि इसाको छैटौं शताब्दीमा जन्मिएको हो ।

यहुदी समुदायले अहिले पनि क्राइष्टको जन्मलाई नै अविश्वास गर्दछन् । यहुदी बाइबलमा भविष्यवाणी गरिएको व्यक्ति जिसस क्राइष्ट नै थिए भन्ने विश्वास गर्दैनन् । क्रिश्चियनहरूले क्राइष्ट र नयाँ बाइबलमा विश्वास गर्दछन् । इस्लामले कुरानमा विश्वास गर्दछन् ।

क्रिश्चियानिटीमा भगवान्‌को अवतार हुँदैन । मान्छेलाई पापबाट मुक्ति दिन भगवान्‌का छोराको रूपमा जिसस क्राइष्टको जन्म भएको थियो भन्ने मानिन्छ । इस्लाम विश्वासमा मोहम्मद ‘भगवान्‌का छोरा’ हैन, ‘भगवान्‌का सन्देशबाहक’ (पैगम्बर) मानिन्छन् ।

हिन्दू विश्वासमा भने भगवान्‌को स्वयम् अवतार हुन्छ । १० मध्ये ९ अवतार भइसकेको छ, १० औं कल्की अवतार बाँकी छ ।

पछि क्रिश्चियन धर्ममा कट्टरता र अन्धविश्वास थपिँदै गयो । रोमन क्याथोलिक चर्चहरूमा शक्तिको केन्द्रीकरण भयो । पादरीहरूले ‘पापमोचन पत्र’ को बिक्री गरेर पैसा कमाउन थाले । राज्यको शक्तिसमेत चर्च र पादरीहरूमा आधारित भएर चल्न थाल्यो ।

फलतः क्रिश्चियन समाजमा १६ औं शताब्दीमा धर्मसुधार आन्दोलन जन्मियो । धर्म सुधार आन्दोलनले अन्ततः क्रिश्चियानिटीको एक नयाँ हाँगो ‘प्रोटेस्टानिज्म’ जन्मायो ।

रोमन क्याथोलिक र प्रोटेस्टेन्ट क्रिश्चियनबीचको मुख्य भिन्नता के हो भने रोमन क्याथोलिकहरू चर्च र पादरीको सहयोगले मात्र मान्छेले पापमुक्त भई परमात्मा प्राप्त गर्न सक्दछ भन्ने विश्वास गर्दछन् । प्रोटेस्टेन्टहरू भने आत्मा र परमात्माको मिलनका लागि कसैको सहयोग नचाहिने विश्वास गर्दछन् । भगवानका सन्देश र शिक्षा सिधै मान्छेलाई दिन सकिने उनीहरूको विश्वास हुन्छ ।

आधुनिक लोकतन्त्रको विकासमा प्रोटेस्टानिज्मले योगदान गरेको विश्वास गरिन्छ । किनकि यसले भगवान्‌को आँखामा सबै मान्छेको जन्म र अस्तित्व समान हुने ठान्दछ । नागरिक सार्वभौमसत्ताको नियम यही सोचबाट विकास भएको हो । धर्मसुधार आन्दोलनपछि युरोपमा पुनर्जागरण, प्रवोधन र लोकतन्त्रको आन्दोलन विकसित भएको थियो ।

अब्राहमिक परम्पराको सृष्टिसम्बन्धी वर्णन आदम र इभको कथामा क्रिश्चियानिटीले अझै विश्वास गर्दछ । यो कथाअनुसार आदि पुरुष र महिला आदम-इभले भगवान्‌ले नखानु भनेको स्याउको फल अर्थात् ‘बर्जित फल’ खाएका थिए । यही पापले गर्दा मान्छेको जन्म भयो । मान्छेलाई पाप मुक्त गर्न जिसस क्राइष्टको जन्म भएको हो । तर, यहुदी र इस्लामले भने यो कथामा विश्वास गर्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved