कसले गरेका थिए ‘पुँजीवाद’ शब्दको पहिलो प्रयोग ?

‘कम्युनिष्ट घोषणा-पत्र’ मा ‘क्यापिटल’ (पुँजी), ‘क्यापिटालिस्ट’ (पुँजीपति) र ‘क्यापिटालिस्टिक मोड अफ प्रोडक्सन’ (उत्पादनको पुँजीपति सम्बन्ध) जस्ता शब्द र शब्दाबली बारम्बार प्रयोग गरेका छन् । तर, ‘क्यापिटालिज्म’ शब्द भने प्रयोग गरेको पाइन्न ।

नेपालभ्युज

कसले गरेका थिए ‘पुँजीवाद’ शब्दको पहिलो प्रयोग ?

अंग्रेजीमा ‘क्यापिटालिज्म’ अर्थात् पुँजीवाद करिब २ शताब्दीयता विश्वभरि सर्वाधिक प्रयोग हुने शब्दमध्ये एक हो । विश्व राजनीति, समाजशास्त्र र अर्थतन्त्रशास्त्रसम्बन्धी बहस र किताबमा पुँजीवाद शब्द बारम्बार तानिएर आउँछ ।

पुँजीवाद राजनीतिकभन्दा बढी अर्थशास्त्रीय शब्द हो । यसले अर्थतन्त्रको निश्चित ढाँचा, पद्धति, प्रणाली वा संरचनालाई बुझाउँछ । सामान्यतः उत्पादनका साधनको निजी स्वामित्व, निजी सम्पत्तिको अधिकार, आम उत्पादन, खुला बजार, बजारमा वस्तु तथा सेवाको मूल्य माग र आपूर्तिको सन्तुलनद्वारा निर्धारण, मुनाफा र मुनाफाको पुँजीकरण हुने प्रणालीलाई पुँजीवाद भन्ने गरिन्छ ।

अर्थतन्त्रको यस्तो मान्यता र प्रणाली १८औं शताब्दीको औद्योगिक क्रान्तिसँगै विकसित तथा विस्तारित भएको थियो । त्यसअघिको अर्थतन्त्र सामन्ती उत्पादन सम्बन्धमा आधारित प्राकृतिक तथा वाणिज्यवादी थियो ।

पुँजीवादको समर्थन र विरोधमा संसारभरि हजारौं पुस्तक तथा लेख लेखिएका छन् । गन्न नसकिनेगरी भाषण तथा प्रवचन भएका छन् । तीमध्ये अधिकांशले एडम स्मिथलाई पुँजीवादको मुख्य समर्थक वा कार्ल मार्क्सलाई यसको मुख्य विरोधीका रूपमा उल्लेख गर्दछन्।

तर, रमाइलो कुरा के थियो कि यी दुवै पुँजीवाद शब्दको पहिलो प्रयोग गर्ने व्यक्ति थिएनन् । सन् १७७६ मा प्रकाशित ‘द वेल्थ अफ नेसन’ नामक पुस्तक लेखेको कारणले एडम स्मिथलाई ‘अर्थशास्त्रका पिता’ भनियो । आलोचकले पुँजीवादी अर्थशास्त्रमा मुख्य व्यक्तित्वको रूपमा उनका विचार र दृष्टिकोणको खण्डन गर्दै आए ।

एडम स्मिथको किताबको मौलिक संस्कारणमा ७५६ पेज थियो । यति मोटो किताबभित्र उनले कतै ‘पुँजीवाद’ शब्दको प्रयोग गरेका थिएनन् । न त उनले कहिल्यै आफू दार्शनिक तथा वैचारिक रूपमा ‘पुँजीवादी’ भएको दाबी नै गरे ।

‘वेल्थ अफ नेसन’ लेख्नुअघि उनी नैतिक दर्शनका प्रवचक थिए । यस विधाको उनको मुख्य पुस्तक ‘द थ्योरी अफ मोरल सेन्टिमेन्ट’ सन् १७५९ मै प्रकाशित भइसकेको थियो । स्मिथका यी दुवै किताबमा ‘पुँजीवाद’ शब्द थिएन ।

उनले प्राकृतिक चरित्रका हिसाबले मान्छे कस्तो नैतिक प्रणाली अबलम्बन गर्ने वा गर्न सक्ने प्राणी हो, र अर्थतन्त्रले कसरी मानवीय स्वभाव र स्वार्थअनुरूप काम गरिरहेको हुन्छ भन्ने चित्रण मात्र गरेका थिए ।

अर्को रोचक कुरा के हो भने पुँजीवादका मुख्य आलोचक मानिएका चिन्तक तथा दार्शनिक कार्ल मार्क्सले आफ्ना मित्र फ्रेडरिक एंगेल्ससँग मिलेर लेखेको विख्यात कृति ‘कम्युनिष्ट घोषण-पत्र’ जुन सन् १८४८ मा पहिलोपटक प्रकाशित भएको थियो, त्यसमा पनि ‘पुँजीवाद’ शब्द प्रयोग भएको छैन । पुँजीवादलाई एक भिन्नै सैद्धान्तिक प्रवर्ग बनाएर चर्चा गरिएको छैन ।

‘कम्युनिष्ट घोषणा-पत्र’ मा ‘क्यापिटल’ (पुँजी), ‘क्यापिटालिस्ट’ (पुँजीपति) र ‘क्यापिटालिस्टिक मोड अफ प्रोडक्सन’ (उत्पादनको पुँजीपति सम्बन्ध) जस्ता शब्द र शब्दाबली बारम्बार प्रयोग गरेका छन् । तर, ‘क्यापिटालिज्म’ शब्द भने प्रयोग गरेको पाइन्न ।

त्यसोभए ‘क्यापिटालिज्म’ अर्थात् पुँजीवाद शब्दको पहिलो प्रयोगकर्ता को थियो होला ?

अक्सफोर्ड अंग्रेजी शब्दकोषकाअनुसार यसको पहिलो प्रयोग सन् १९५४ मा उपन्यासकार विलियम म्याकपिस थाक्कराईले गरेका थिए । उनको उपन्यास ‘द न्यू कम्स’ मा यो शब्द पहिलोपटक प्रयोग भएको थियो । तर, उनले यसको प्रयोग राजनीतिक, वैचारिक तथा दार्शनिक अर्थमा गरेका थिएनन् । ‘पुँजीको स्वामित्व प्रणाली’ भन्ने बुझाउन यो शब्द प्रयोग भएको थियो ।

‘क्यापिटल’ शब्द ल्याटिन भाषाको ‘च्याटल’ अंग्रेजीको ‘क्याटल’ हुँदै बनेको मानिन्छ । अर्थात् पुँजीलाई त्यतिखेर मालिक बदलिरहने पशुधनजस्तै चलायमान सम्पत्ति मानिएको थियो । मुद्राको सञ्चितीलाई पुँजी भनिन्थ्यो र मुद्रा मान्छेका हातहातमा हिँडिरहन्थ्यो । मालिक वा स्वामित्व फेरिइरहन्थ्यो ।

तर, अक्सफोर्ड शब्दकोषको यो दाबी धेरैले मान्दैनन् । सन् १९५० मै लुईस ब्लाकको एक निबन्धमा ‘क्यापिटालिज्म’ शब्द प्रयोग भइसकेको थियो भनेर विश्वास गर्ने धेरै छन् ।

लुईस ब्लाक एक फ्रान्सेली लेखक, पत्रकार तथा राजनीतिकर्मी थिए । फ्रान्सेली समाजवादी विचारधारामा ब्लाकको महत्त्वपूर्ण योगदान थियो । उनी सहकारी आन्दोलनका पक्षपाती थिए । तर, उनले साम्यवादलाई भने समर्थन गरेनन् । उनले न कार्ल मार्क्सको विचारमा समर्थन जनाए, न त पेरिस कम्युनकै ।

‘क्यापिटालिज्म’ प्रचलित हुनुअघि ‘क्यापिटालिष्ट’ शब्द लोकप्रिय भइसकेको थियो । ‘क्यापिटालिष्ट’ शब्दको पहिलो प्रयोग भने अंग्रेज कवि स्यामूअल टैलर कोलरिचले सन् १८२३ मा गरेका थिए ।

पुँजीवादी वा उदारवादी, समाजवादी हुन् वा साम्यवादी, कसैले पनि पुँजीको महत्त्वलाई अस्वीकार गर्न सकेका छैनन् । तर, पुँजी निर्माणको प्रक्रिया, पुँजी अंशको बाँडफाँट र स्वामित्वको विषयमा भने सधै बहस हुँदै आएको छ ।

कार्ल मार्क्सले पुँजीलाई औद्योगिक युगमा निजी सम्पत्तिको अधिकारबाट अनिवार्यरूपमा जन्मिने, सामाजिक तथा सामूहिक प्रक्रिया निर्माण हुने र निजी स्वामित्वमा पुग्ने एक ऐतिहासिक खराबीका रूपमा चित्रण गरेका थिए । तसर्थ उनी साम्यवादमा विश्वास गर्थे । मार्क्सको विचारमा साम्यवाद भनेको ‘निजी सम्पतिको अन्त्य’ हो । निजी सम्पतिको अन्त्य गर्ने हो भने पुँजी व्यक्तिगत हुँदैन, सामूहिक बन्न पुग्दछ भन्ने उनको धारणा थियो ।

सन् १९१७ को रुसी अक्टोबार क्रान्तिपछि संसारका सबै कम्युनिष्ट विश्वका देशले कार्ल मार्क्सको त्यो मान्यतामा विश्वास गरेर सम्पूर्ण उत्पादन साधनको राष्ट्रियकरण गरेका थिए । तर, सन् १९७० को दशकपछि त्यस्ता देशको अर्थतन्त्रमा गम्भीर गतिरोध पैदा भए । अन्ततः सन् १९८९-१९९१ को बीचमा ती आफै पतन हुन पुगे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved