टेलिकमको प्रिपेड सिमकार्डमा यस्ता छन्‌ थप सुविधा

नेपालभ्युज

टेलिकमको प्रिपेड सिमकार्डमा यस्ता छन्‌ थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने जनाएको छ । टेलिकमको नयाँ प्रिपेड सिम किनेर चलाउँदा त्यसमा हुने सेवा सुविधा थप हुने जनाएको हो ।

त्यसै गरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराउने भएको छ । रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सिममा थप सुविधा

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड मार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको टेलिकमले जनाएको छ । तर, अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा  १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुने टेकिमले जनाएको छ । कक्षा ८ देखिमाथिका विद्यार्थीलाई सिम कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचयपत्रको आधारमा  ९० रुपैयाँमा प्रिपेड सिम कार्ड उपलब्ध हुनेछ । सो सिम कार्डमा समेत नयाँ सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

नयाँ सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिम कार्डमा पनि १० ब्यालेन्स हुनेछ ।

डाटा बोनस

विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्ड मार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब  १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोस मार्फत १०० देखि १९९ रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र  ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ ।

त्यसै गरी फिजिकल रिचार्ज मार्फत  १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ । यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरताको रूपमा उपलब्ध हुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने कम्पनीको अपेक्षा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved