धुलिखेल जीपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

नेपालभ्युज

धुलिखेल जीपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

काठमाडौं । धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ ।

धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो ।

राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वल्र्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनीहरु बताउँछन् ।

कति लाग्छ शुल्क ?

क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ । सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा मज्जा लिन सकिन्छ ।

यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिएका छन् ।

कसरी पुग्ने ?

काठमाडौंको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन छ ।

जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दै हुनुहुन्छ भने धुलिखेल जिपलाइन बाटोमै पर्छ । केही मिनेट रोकिएर जिपलाइनको मज्जा लिएर जान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved