कम बोल्नुस्, धेरै सुन्नुस् : हुनेछन् यी ७ फाइदा

धेरै बोलेर समाज र साथीभाइको वृत्तमा छिटो स्थापित र लोकप्रिय होइन्छ भन्ने धारणा सत्य हैन । कतिपयलाई त्यो कुरा मन नपरेको वा नकारात्मक भावना उत्पन्न भइररहेको पनि हुन सक्दछ । धेरै बोल्न चाहने मान्छेलाई मनोविज्ञानमा बाह्यमुखी र थोरै बोल्ने मान्छेलाई अन्तमुर्खी भनिन्छ ।

नेपालभ्युज

कम बोल्नुस्, धेरै सुन्नुस् : हुनेछन् यी ७ फाइदा

काठमाडौं । भनिन्छ– कान दुईवटा छन्, आँखा दुईवटा छन् । तर, मुख एउटा मात्रै छ तसर्थ जति सुन्नपर्छ, हेर्नपर्छ, त्यसको आधा मात्र बोल्नपर्छ ।

तर, अक्सर मानिसको व्यवहार त्यस्तो हुँदैन । धेरै सुन्ने र मनमनै गम्ने मान्छे कमै हुन्छन् । अधिकांश आफैँ धेरै बोल्न चाहन्छन् । धेरै बोल्दा समाजमा छिटो स्थापित भइन्छ भन्ने सोच हुन्छ । आफ्नो अस्तित्व र बडप्पनको विस्तार भइरहेको छ भन्ने ठानिन्छ ।

अक्सर मान्छेको मनोवैज्ञानिक यथार्थ हो कि आफ्नो कुरा अर्कालाई सुनाउन पाउँदा खुसी हुन्छ । मेरो कुरा अरुले सुन्दिए, मान्दिए वा पत्याइदिए भन्ने भाव पैदा हुन्छ । यस्तो भावले धेरै बोल्ने स्वभावका मान्छेलाई खुसी, गौरव र आत्मविश्वास दिन्छ ।

अरुका कुरा धेरै सुन्नुको अर्थ उसको कुरा सबै पत्याउनु वा सहमत हुनु भने हैन । उसको सोच्ने तरिका र धारणा बुझ्नु हो । मान्छेले कसरी-कसरी सोचिरहेका छन्, कस्ता-कस्ता धारणा राख्ने मान्छे समाज र संसारमा छन्, त्यस्तो सोच कुन कारणले किन र कसरी उत्पन्न भएको हो भनेर बुझ्नु हो ।

धेरै बोलेर समाज र साथीभाइको वृत्तमा छिटो स्थापित र लोकप्रिय होइन्छ भन्ने धारणा सत्य हैन । कतिपयलाई त्यो कुरा मन नपरेको वा नकारात्मक भावना उत्पन्न भइररहेको पनि हुन सक्दछ ।

धेरै बोल्न चाहने मान्छेलाई मनोविज्ञानमा बाह्यमुखी र थोरै बोल्ने मान्छेलाई अन्तमुर्खी भनिन्छ । बाह्यमुखी मानिसमा दुईवटा आन्तरिक चरित्र हुन्छन् । ऊ कि उच्चताबोधले प्रेरित हुन्छ कि आफ्ना कमजोरी र अज्ञानतालाई धेरै बोलेर लुकाउन खोजिरहेको हुन्छ ।

अन्तमुर्खी मानिस जीवनको प्रारम्भिक कालखण्डमा हिनताबोधबाट ग्रसित हुन्छ भन्ने मनोविज्ञानविज्ञको भनाइ छ । तर, युवा उमेरका हिनताबोधी मानिसले जीवनको उत्तरार्धमा धेरै सार्थक काम गरेका हुन सक्दछन् । बाह्यमुखी मानिस भने सतही र पाण्खडी हुँदै जाने सम्भावना बढी हुन्छ ।

त्यसो त धेरै कम बोल्ने वा बोल्दै नबोल्ने हुनु पनि राम्रो हैन । कसैका बकम्फुस, झुठा वा वाहियात कुरा निरन्तर सुनिरहने धैर्यता हुनु आफैँमा अनौठो हो । बोल्दै नबोल्दा वा एकदमै कम बोल्दा गलत मानिसले त्यसको फाइदा उठाउने प्रयत्न गर्दछन् । त्यस्तो मानिसलाई समाजमा ‘सारै सोझो’ भन्ने सम्भावना हुन्छ ।

न धेरै बोल्नु राम्रो हो न बोल्दै नबोल्नु । सबैभन्दा राम्रो ठिक्क, आवश्यक ठाउँमा र वजनदार ढंगले बोल्नु हो । अनौपरिक कुराकानीमा होस् वा औपचारिक संवाद ठिक्क र वजनदार बोल्ने बानीले व्यक्तित्व विकासमा धेरै मद्दत गर्दछ ।

कम बोल्दा हुने ७ फाइदा यस्ता छन्:

१. धेरै पृष्ठपोषण प्राप्त हुने 

आफूले कम बोल्दा र अरुको कुरा धेरै सुन्दा सूचना, ज्ञान र पृष्ठपोषण धेरै प्राप्त हुन्छन् । बोल्दा आफूसँग भएकै सूचना, ज्ञान, सोच, विचार र विद्वत्ता बोल्ने हो । त्यो त आफूसँग अगाडिदेखि नै छँदै छ नि ! अरुको कुरा सुनियो भने पो केही नयाँ कुरा पाइएला ।

अरुको कुरा सुनेर पाइने सबै चिज काम लाग्ने वा गतिला पृष्ठपोषण नै हुन्छन् भन्नेचाहिँ हैन । कतिपय कुरा उडन्ते र हावादारी हुन्छन् । कतिपय आफूलाई अगाडिदेखि नै थाहा भएको हुन सक्दछ । तर, कतिपय आफूलाई थाहा नभएका र नयाँ पनि हुन सक्दछन् ।

सूचना र ज्ञानको स्रोत पढ्नु र आफैँ अनुभव गर्नु मात्र हैन । संसारमा यति धेरै पुस्तक वा ग्रन्थ छन्, पढेर कहिल्यै सकिन्न । यति धेरै स्थान, काल, सन्दर्भ र परिवेश छन्, एकबारको जुनीमा आफैँ अनुभव गर्न सम्भव हुँदैन ।

अरुका कुरा सुन्नु भनेको अरुले पढेका वा भोगेका ज्ञान र अनुभवलाई सित्तैमा प्राप्त गर्नु हो । अरुबाट प्राप्त ज्ञान र अनुभवको जीवनमा धेरै ठूलो महत्त्व हुन्छ । कम्तीमा आफूले ठीक त्यही अनुभव वा मुर्खता दोहोर्‍याउन नपर्ने हुन सक्दछ ।

२. व्यक्तित्व रिजर्भ रहने

धेरै बोल्ने मान्छेको गुह्य वा भित्री चरित्र सबैले सजिलै र छिट्टै थाहा पाउँछन् । तर, कम बोल्ने मान्छेको व्यक्तित्व रिजर्भ रहन्छ । धेर बोल्ने, प्यारप्यारे, हावादारी, उडन्ते वा गफाडीजस्ता आरोप वा संज्ञा आई लाग्दैन । त्यो मानिस अनावश्यक बोल्दैन, बोल्दा पक्कै गमी, गम्भीर र बजनदार बोल्दछ भन्ने बुझाइ अरुमा विकसित हुन्छ ।

३.धीरता बढ्ने

कम बोल्नु र धेरै सुन्नु भनेको आफूभित्र धीरता विस्तार गर्नु हो । संसारमा सबै चिज मान्छे चाहेजस्तो चाहेको बेलामा हुँदैनन् । कतिपय मान्छे उत्तर दिन नसकेको प्रश्नको उत्तर समयले दिन्छ । हल गर्न नसकेका समस्याको समाधान समयले गर्दछ ।

धीरता अनुपयुक्त समयबाट उपयुक्त समयसम्म पर्खिने क्षमता हो । जस्तो कि हामी प्रतीक्षाको घडी छोटै भएपनि अधैर्य हुन्छौँ । मनमा बेचैनी हुन्छ । तर, जब प्रतीक्षाको घडी सकिन्छ, त्यसअघिका बेचैनी निरर्थक लाग्दछ ।

अधैर्य अवस्थामा मनिसले गल्ती गर्ने सम्भावना धेरै हुन्छ । जब गल्ती भइसक्छ चुकचुकाउनुबाहेक अरु उपाय हुँदैन । छिटो परिणाम निकाल्ने नाममा हतारो गर्नुभन्दा अनुपयुक्त समयमा ‘न्यूट्रल गियर’ मा बस्नु राम्रो हो । कम्तीमा दुर्घटनाको हानीबाट बचिन्छ।

४. गलत बोल्ने सम्भावना घट्ने

जति धेरै बोल्यो, बोल्दाबोल्दै गलत वा तथ्यहीन बोलिने सम्भावना पनि बढ्छ । जिन्ह्वा स्खलन (टंग स्लिप) को सम्भावना बढ्छ । अक्सर राम्रै बोल्ने मानिसले पनि कुनै बेला गम्भीर गल्ती, अतिरञ्जना, असत्य, तथ्यहीन वा हावादारी कुरा बोल्यो भने त्यसले जीवनभरि लखेटिरहन सक्दछ ।

९९ सत्य बोल्नु र १ गलत कुरा मुखबाट उम्किनुको मूल्य कहिलेकाहीँ ९९ को भन्दा १ को धेरै चुकाउनुपर्ने हुन सक्दछ । गम्भीर मानिसले कदाचित झुटो बोलियो भने त्यसको प्रतिरक्षा गर्नु हुँदैन । विनम्रतापूर्वक क्षमा माग्नु र भविष्यका त्यस्तो नबोल्ने प्रयत्न गर्नु उचित हो ।

तर, धेरै बोल्ने मानिसलाई यस्ता कुराको मतलब नै हुँदैन । उसले बोलेका गल्ती र उडन्ते कुरालाई अरुले महत्त्व पनि दिँदैनन् । किनकी ‘यो मान्छे यस्तै हो’ भन्ने ‘माइन्ड मेकअप’ भइसकेको हुन्छ सबैको ।

५. नकारात्मक छवि बन्न नपाउने

कसैले जति धेरै बोल्यो, स्रोता उसको बारेमा त्यति नै धेरै विभाजित र ध्रुवीकृत हुन्छन् । संसारका अकाट्य सत्य कमै हुन्छन्, जसबारे प्रतितर्क गर्न नसकियोस् । तसर्थ धेर बोल्नु भनेको विरोधी र शत्रु बढाउँदै जानु पनि हो ।

धेरै बोल्दा नकारात्मक छवि बन्ने र मान्छे राम्रै बोलेको बेलामा पनि नपत्याउने हुन सक्दछ । दन्त्यकथाको ‘बाघ आयो बाघ आयो’ भनेर ठग्ने गोठालोको जस्तो हुन सक्दछ । कसैको बारेमा कसैको दिमागमा एकपटक कुनै कारणले नकारात्मक छवि बन्यो भने त्यसलाई धुन सजिलो हुँदैन । मानिसले जीवनभरि त्यही धारणा वा पूर्वाग्रह राख्न सक्दछ ।

६. सुन्न चाहनेको उत्सुकता बढ्ने

कम बोल्ने मानिसको जब बोल्ने दिन, पालो वा सन्दर्भ आउँछ, यसले के भन्ने हो भनेर स्रोताको उत्सुकता बढ्छ । स्रोताको ध्यान केन्द्रित हुन्छ । धेरै बोल्नेले सधै बोलेकै हुन्छ । उसका कुरा सुन्दासुन्दै मान्छे हैरान भएका हुन्छन् । कति एउटै कुरा सुन्नु, त्यसले यही भन्छ भनेर अगाडि नै थाहा छ भन्ने भान पर्दछ ।

कम बोल्नेलाई सुन्न स्रोता इच्छुक र उत्सुक हुन्छन् । यस्तो ‘एटेन्सन’ आफैमा ठूलो सम्पत्ति हो ।

७. साक्षी भावको अभ्यास हुने 

भनिन्छ— मानव मनमा उत्पन्न हुने भावनाका ३ वटा चरित्र हुन्छन् । राग, वैराग र वितराग । राग भनेको आकर्षण, मोह, लिप्सा र प्रेमको भावना हो । वैराग भनेको विकर्षण, निर्मोह, अनाशक्ति र घृणाको भावना हो । वितराग भनेको राग र बैराग दुवैबाट मुक्त साक्षी र सत्यबोधको भाव हो ।

धेरै बोल्ने मानिसमा राग र वैरागको भावना बढी हुन्छ । तसर्थ यस्तो मानिस ‘बायस’ हुने सम्भावना धेरै हुन्छ । कसैप्रति आशक्त र कसैप्रति अनाशक्त हुन सक्दछ । कम बोल्ने मानिसले मनमनै वितराग भावको अभ्यास गर्ने सम्भावना धेरै हुन्छ । साक्षीभाव प्राप्त गर्न सक्दछ ।

कम बोल्नुस्, धेरै सुन्नुस, धेरै हेर्नुस् र यी ७ फाइदा उठाउनुस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved