विश्वमा शान्ति स्थापनाका लागि नेपाल प्रतिबद्ध छ: रक्षामन्त्री खड्का

नेपालभ्युज

विश्वमा शान्ति स्थापनाका लागि नेपाल प्रतिबद्ध छ: रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा नेपाल विश्वमा शान्ति स्थापनाका लागि प्रतिबद्ध रहेको जनाएका हुन् ।

नेपालको योगदानको कदरस्वरूप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले विश्वास व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले निरन्तरको तापक्रम वृद्धिका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा नेपाल चिन्तित रहेको र दुबईमा जारी कोप–२८ मा त्यससम्बन्धमा जोडदार रूपमा नेपालले आवाज उठाएको बताए ।

खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले पनि शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तरराष्ट्रिय शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाको सराहना गरे ।

उनले घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताए ।

त्यस्तै मन्त्री खड्काले भारतका रक्षा राज्यमन्त्री अजय भट्टसँग पनि भेट गरेका छन् । भेटमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved