आत्मानन्द गोल्डकपको उपाधि तिजोक पाँचथरलाई

नेपालभ्युज

आत्मानन्द गोल्डकपको उपाधि तिजोक पाँचथरलाई

फिक्कल । इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको हो ।

माङसेबुङ गाउँपालिका–५ आत्मानन्द रङ्गशालामा आज भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि ‘सडन डेथ’ मा विजेता निर्धारण गरिएको हो ।

विजयी समूह तिजोकले नगद रु तीन लाख ११ हजार र ट्रफी हात पार्‍यो भने उपविजेता माङसेबुङले नगद रु दुई लाख पाँच हजार र ट्रफी प्राप्त गर्‍यो । अघिल्लो संस्करणमा तिजोक उपविजेता बनेको थियो ।

उत्कृष्ट ‘डिफेन्डर’ विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट ‘गोलकिपर’ रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई, उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदियमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुलाई जनही नगद रु पाँच हजार प्रदान गरिएको थियो ।

विजेता र उपविजेताहरुलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गरे । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवका अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा यही मङ्सिर ८ गतेदेखि सञ्चालित गोल्डकपमा नेपाल, भारत र भूटानका आठ टोलीको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved