‘नेपाललाई विकास सहकार्यमा सघाउन भारत सरकार प्रतिबद्ध’

नेपालभ्युज

‘नेपाललाई विकास सहकार्यमा सघाउन भारत सरकार प्रतिबद्ध’

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयले आज परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठकको आयोजना गरेको छ । भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारका माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए ।

बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो ।

बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो । बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री डा.महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारे । उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved