रास्वपाको बैठक मधेसमै किन ?

यस्तै पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा पनि छलफल हुने प्रवक्ता ढकाल बताउँछन् । 

नेपालभ्युज

रास्वपाको बैठक मधेसमै किन ?

काठमाडौं । ‍रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक महोत्तरीको जलेश्वरमा बस्दैछ । बैठक केहीबेरमा सुरू हुँदैछ ।

रास्वपा नेताहरूले यो बैठकलाई पार्टी जीवनकै महत्त्वपूर्ण बैठक भनेका छन् । उनीहरूले यो बैठकले वैचारिक स्पष्टतादेखि नीति निर्माण र सङ्गठन विस्तारको पाटोमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

त्यसो त पार्टी जीवनकै महत्त्वपूर्ण भनिएको यो केन्द्रीय समिति बैठक काठमाडौं वा अन्य ठाउँमा नभई किन मधेसमै बस्ने भयो ? यही प्रश्न नेपालभ्यूजले रास्वपा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाललाई सोध्यो ।

ढकालले केही बुँदामा यसको जवाफ दिएका छन् ।

पहिलो— मधेसमा पार्टी विस्तार र सुदृढ गर्न । “हामीलाई मधेसमा पार्टी विस्तार र सुदृढ गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ । त्यसमा सहज हुन्छ भनेर हामीले यो बैठकलाई मधेसमा राखेका हौँ,” प्रवक्ता ढकालले भने ।

दोस्रो— मधेसबाटै वैचारिक स्पष्टता देखाउन । “हामीमाथि वैचारिक अस्पष्टताका धेरै प्रश्नहरू उठ्ने गरेका छन् । त्यसको स्पष्टता हामीले मधेसबाटै गर्ने भनेका छौँ,” प्रवक्ता ढकालले भने ।

उसो त रास्वपाको मार्गनिर्देशक सिद्धान्त के हो ? उसले कुन बाटो हिँड्न चाहन्छ ? भन्नेमा प्राय:जसो प्रश्नहरू उठ्ने गर्छन् । यो बैठकले त्यसमा स्पष्ट पार्ने उनको भनाइ छ । “वैचारिक स्पष्टताबारे यो बैठकले स्पष्ट पार्नेछ । दस्तावेजमार्फत यो विषय आउनेछ । यो सन्देश मधेसबाटै दिँदा राम्रै हुन्छ भन्ने लाग्यो । यसको व्याख्याचाहिँ पछि गर्दै जानेछौँ । बहस गर्दै जानेछौँ,” प्रवक्ता ढकालले भने ।

तेस्रो— भिन्न ठाउँबाट भिन्न सन्देश दिन । प्रवक्ता ढकालकाअनुसार रास्वपाले विकृति, विसङ्गति र अराजकताविरुद्ध एक हुन आह्वान गर्दै सामाजिक न्याय र सुशासनका पक्षमा एकजुट हुन आह्वान गर्नेछ । “समाजका अराजकताविरुद्ध एक हुनका लागि हामी आह्वान गर्नेछौँ,” प्रवक्ता ढकालले भने, “त्यो सन्देश हामीले मधेसबाट देशलाई दिन चाहन्छौँ ।”

बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ भने केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवम् राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत हुनेछ ।

यस्तै पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा पनि छलफल हुने प्रवक्ता ढकाल बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved