मिछुर्लङमा दशैं पर्यटन मेला

नेपालभ्युज

मिछुर्लङमा दशैं पर्यटन मेला

दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दशैं पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्दे भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए । उनले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाए ।

तेस्रो नेत्र युवा संस्थाको आयोजनामा सुरु मेला आगमी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत सुरु भएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए । उनले भने, “दशैंका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाहरुको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दशैंको अवसर पारेर मेला आयोजना गरिरहेको छ ।”

मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यू टावरबाट दृश्य अवलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो ।

मगर समुदायको कौरा, झ्याउरे, अग्र्यानिक परिकार मिछुर्लुङको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved