केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

नेपालभ्युज

केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन्।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनि सहयोगी एवं उपकारी स्वभावका छन् ।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनि २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति  भएका उनि त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनि हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ले । मन्त्रीका रुपमा उनले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी र  दुई छोरा छन् ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved