चाडबाडको मुखमा गाडी भाडा बढाउने लबिङ, कहिले खुल्छ दशैँको अग्रिम टिकट बुकिङ ?

व्यवसायीले सडक पूर्वाधार राम्रो नभएको, बैंकहरूले ब्याजदर बढाउँदा ऋणको किस्ता तिर्न नसकिएकोले भाडा बढाउनुपर्ने बहाना बनाएका छन्।

नेपालभ्युज

चाडबाडको मुखमा गाडी भाडा बढाउने लबिङ, कहिले खुल्छ दशैँको अग्रिम टिकट बुकिङ ?

काठमाडौं। यातायात व्यवसायीले चाडबाडको मुखमा गाडी भाडा बढाउन लबिङ थालेका छन्। भाडा समायोजनको माग राख्दै केही दिनयता यातायात व्यवस्था विभागमा उनीहरूको दौडधुप बढेको छ।

व्यवसायीले सडक पूर्वाधार राम्रो नभएको, बैंकहरूले ब्याजदर बढाउँदा ऋणको किस्ता तिर्न नसकिएकोले भाडा बढाउनुपर्ने बहाना बनाएका छन्।

आफ्नो माग सरकारले सम्बोधन नगरेपछि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने सम्बन्धमा व्यवसायीले चासो दिएका छैनन्।

प्रत्येक वर्ष चैतमा भाडा समायोजन गर्ने विषयमा अघिल्लो सरकारले निर्णय गरे पनि त्यसलाई अहिलेसम्म कार्यान्वयन नगरिएको व्यवसायी बताउँछन् । चैतमै गर्नुपर्ने गाडी भाडा समायोजन नगरिएकाले समायोजनको माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर बताउँछन्।

उनी भन्छन्, ‘‘हाम्रो माग गत चैत देखिनै हो। यो कुनै बार्गेनिङ होइन। यातायातको क्षेत्रमा खर्बौँ लगानी छ। १५ लाखभन्दा बढी श्रमिक यस क्षेत्रमा आबद्ध भएकाले मागमा बेवास्ता गर्न पाइँदैन।’’

गत साउन ३१ मा अन्तर प्रदेश भाडा समायोजन भइसकेको छ । दशैं आउन एक साताअघि अग्रिम टिकट बुकिङ खोल्दा उपयुक्त हुने व्यायसायीको भनाई छ।

यता यातायात व्यवस्था विभागले भने व्यवसायीका माग अहिल्यै पूरा गर्न नसके पनि चाडबाडपछि छलफल गर्न सकिने बताएको छ। महानिर्देशक उद्धव रिजाल भन्छन्, ‘‘चाडबाडको बेलामा भाडा बढाउने कुरा हुँदैहुँदैन। बरु पछि छलफलमा बसौँला।’’

काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीका लागि अग्रिम टिकट बुकिङ असोज २५ मा खोल्ने गरी अनौपचारिक छलफल भएको पनि महानिर्देशक रिजालले जनाए।

अघिल्लो दसैंमा मात्र करिब २० लाख यात्रु बाहिरिएका थिए। यसपटक पनि उत्तिकै यात्रु बाहिरिने अनुमान छ।

सरकारले सडक पूर्वाधारलाई सहज बनाउनुपर्नेमा उनीहरूको माग छ। यात्रुको सबैभन्दा बढी चाप हुने क्षेत्र नारायणगढ–बुटवल, मुग्लिङ–पोखरा, नागढुंगा–मुग्लिङ र कमला–कञ्चनपुर सडक हो। यी सडक निर्माणाधीन भएकाले चाडबाडमा समस्या हुने गर्छ। यसलाई सहज बनाउन व्यवसायीले माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved