जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

नेपालभ्युज

जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

धनगढी। सुदूरपश्चिमका पहाडी जिल्लामा करौडौं रकम खर्च गरी निर्माण गरिएका विमानस्थलहरू जहाजको पर्खाइमा रहेका छन् ।

तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको निरन्तरको दबाबपछि पक्की धावनमार्ग बनेर केही समय ’चार्टर्ड’ उडान भएका विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा नआउँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्ने बाध्य छन् ।

सुदूरपश्चिम प्रदेशमा लामो समयपछि समिट एअरलाइन्स र नेपाल वायु सेवा निगमले प्रदेश राजधानी धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर, बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा केही समय उडान गरेका थिए । यस प्रदेशबाट पर्यटनमन्त्री बनेका प्रेम आले बाहिरिएसँगै समिट एअरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेको थियो । त्यसपछि सुदूरपश्चिमेली पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

सडक यातायात अहिले पनि जोखिमपूर्ण छ । बिरामी, सुत्केरीले सकसपूर्ण यात्रा गर्नुपर्छ । नियमित जहाज उडान भए धेरैको अकालमा हुने मृत्यु रोक्न सकिन्छ ।

विगतमा सडक यातायातको पहुँच बढेको कारण देखाउँदै यी विमानस्थलबाट नियमित उडान झिकिएको थियो । अर्को कारण नेपाल एयरलाइन्सले आन्तरिक उडानलाई प्राथमिकतामा समेत राख्न सकेको छैन ।

पछिल्लो समय सुदूरपश्चिमको आकर्षक गन्तव्य खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । नियमित जहाज चल्ने हो भने खप्तड जाने यात्रुबाटै विमानस्थलले पर्याप्त यात्रु पाउने अवस्था छ ।

सुदूरपश्चिमका विमान स्थलको अवस्था

डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादीको आक्रमणबाटै २०५८ सालदेखि पूर्णरूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेल मैदानमा परिणत भएको थियो ।

२०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो । ६ करोड ८० लाख रुपैयाँको लागतमा चार सय ९० मिटर लम्बाइको धावनमार्गसहित कालोपत्र भएको यो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएपनि अहिले बन्द छ ।

त्यस्तै, २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालदेखि सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा आए पनि २०५८ फाल्गुनमा माओवादीको आक्रमणबाट ध्वस्त भएसँगै पुनः बन्द भयो ।

११ करोड ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्र गरी २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आए पनि अहिले भने आउन छोडेको छ ।

२०३२ सालदेखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालदेखि नियमित उडान स्थगित गरिएको थियो । पाँच करोड ५० लाख रुपैयाँको लागतमा छ सय ५० मिटर धावनमार्ग कालोपत्र भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा अहिले नियमित उडान हुन सकेको छैन ।

२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएकोमा २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम प्रहार गर्दा विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त भयो ।

पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोड रुपैयाँको लागतमा बैतडी विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि हुन सकेको छैन । यहाँ २०७८ चैत १० गते समिट एअरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी उडान हुन सकेको छैन ।

२०५८ साल मङ्सिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

धनगढी विमानस्थलकी सूचना अधिकारी दिव्या शाहले अहिले धनगढीलाई वेस बनाएर प्रदेशका पहाडी जिल्लामा नियमित जहाज सञ्चालन हुन नसकेको स्वीकार गरिन् । उनले जहाज अभाव र यात्रु नपाएकै कारण नियमित उडान नभएको बताई शाहले दशैमा यात्रुको चाप बढेको अवस्थामा सवै जिल्लामा हवाई उडान गर्न सकिने जानकारी दिइन् ।

प्रदेशका पहाडी जिल्लामा करौड रकम खर्च गरी निर्माण गरिएका विमानस्थलमा नियमित उडान छैन भने अर्काेतिर नागरिक उड्ड्यन प्राधिकरण प्रदेशका विमानस्थल मर्मत सम्भारका लागी चालु आर्थिक वर्षमा ३१ करोड ३९ लाख बजेट छुट्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved