केरुङ भन्सारबाट ट्रकमा सुन बोकिएको छः केपी ओली

नेपालभ्युज

केरुङ भन्सारबाट ट्रकमा सुन बोकिएको छः केपी ओली
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नुन नपाइने देशमा सुन तस्करी भइरहेको जिकिर गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केरुङ भन्सारबाट ट्रकमा सुन बोकिएको आरोप लगाए । ‘केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ’ उनले भने, ‘पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’

स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैं सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैंले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

‘देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि । यस्ता काण्डहरु चलाउनु हुँदैन’ उनले भने, ‘म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरु चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ?’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले आरोप लगाए ।

उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए । ‘सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यसस्थितिमा परिवर्तन ल्याउनै पर्दछ,’ उनले भने ।

अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved