वाणिज्य बैंकहरूले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? 

नेपालभ्युज

वाणिज्य बैंकहरूले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? 

काठमाडौं। नेपालका वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ १ गते अर्थात् भोलिबाट लागू हुनेगरी बैंकहरूले आ-आफ्ना ब्याजदर सार्वजनिक गरेका हुन् ।

जसअनुसार, सातवटा वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् भने चारवटा बैंकहरूले ब्याजदरलाई यथावत् राखेका छन् । त्यस्तै, बाँकी रहेका बैंकहरूले भने आफ्ना ब्याजदर घटाएका छन् ।

सातवटा वाणिज्य बैंकहरूले बढाए ब्याजदर

ब्याजदर बढाउने सात वाणिज्य बैंकहरूमा हिमालयन, एभरेस्ट, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंक रहेका छन् ।
हिमालयन बैंकले असोजका लागि १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

एभरेस्ट बैंकले असोजका लागि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजका लागि बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो ।

भदौ महिनाको तुलनामा प्राइम कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ११.३५८ प्रतिशत र व्यक्तिगत तर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।

यसैगरी, नेपाल एसबीआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशतले ब्याजदर वृद्धि गर्दै असोजमा १० प्रतिशत ब्याज दिने भएको छ भने, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ०.३७ प्रतिशतले ब्याज वृद्धि गर्दै ९.२९ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

चार वाणिज्य बैंकको ब्याजदर यथावत्

वाणिज्य बैंकहरूको असोजका लागि सार्वजनिक ब्याजदरमा प्रभु, एनएमबि, माछापुच्छ्रे र सिद्धार्थ बैंकले आफ्नो ब्याजदर यथावत् नै रहेका छन् ।

असोजमा प्रभुले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै, एनएमबिले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

आधा दर्जन वाणिज्य बैंकहरूको घट्यो ब्याजदर

बैंकको असोज महिनाका लागि सार्वजनिक ब्याजदरमा आधा दर्जन वाणिज्य बैंकहरूले आफ्ना ब्याजदर घटाएका छन् । जसमा ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले आफ्ना ब्याजदर घटाएका हुन् ।

जसअनुसार, ग्लोबल आईएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ । यस्तै, कृषि विकास बैंकले पनि ०.८९ प्रतिशत, सानिमाले ०.९५ प्रतिशतले ब्याजदर घटाएका छन् । त्यसै गरी, नेपाल बैंकले १.६०३ प्रतिशत, सिटिजन्स बैंकले ०.८४६ प्रतिशत ब्याजदर सार्वजनिक गरेका छन् ।

त्यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved