खाडी मुलुकमा नेपाली फलफूल र तरकारीको माग बढ्दो

नेपालभ्युज

खाडी मुलुकमा नेपाली फलफूल र तरकारीको माग बढ्दो

काठमाडौंं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको गन्तव्य मुलुकमा नेपाली तरकारीको माग बढ्न थालेको छ। त्यहाँस्थित नेपाली राजदूत र नियोगका प्रमुखहरूले नेपालमा उत्पादित कृषि उपजहरूको माग बढे पनि आपूर्ति भने सहज हुन नसकेको बताएका छन्।

निर्यातजन्य कृषि उपजमा विषादीको प्रयोग, प्याकेजिङ र अन्य प्राविधिक विषयबारे नेपाली कृषकमा ज्ञानको कमिका कारण सोचेअनुसार विदेशमा कृषि उपज निर्यात हुन नसकेको राजदूतहरूको भनाइ छ।

ललितपुरमा भएको राजदूतहरूसँग व्यवसायीहरूको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरूलाई शिक्षित बनाउन आवश्यक रहेको बताए। व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उनले व्यवसायीहरूले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए। व्यवसायीहरू १ वर्ष मेला (ट्रेड फेयर)मा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको उनले बताए।

कार्यक्रममा बोल्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरूसँग राजदूताबासबाट हुने सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको बताए। उनले सम्बन्धित देशहरूलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूची तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरूसँगको वातावरण मिलाइलिने बताए। उनले सम्बन्धित देशहरूमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरू उपलब्ध गराउन भने नसकिने भए पनि केही छुट दिलाउन सकिने बताए।

त्यस्तै, संयुक्त अरब ईमिरेट्स (युएई)का लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको बताए। उनले आफूले यूएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरू निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने बताए। युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने उनको भनाइ थियो। उनले खाडी देशहरूमा कृषि उपज निर्यातको ठूलो सम्भावना रहेको बताए।

कार्यक्रममा व्यवसायीहरूले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरूले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन्। नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए। उनले जुम्ला र मुस्ताङका स्याउहरूमा खाडी देशबाट माग बढिरहेको बताए। माग धान्न नसक्दा उनीहरू काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै उनले दूतावसले यसमा पहल गर्न आग्रह गरे।

युएईबाट राँगाको सुकुटीको पनि धेरै माग आएको अध्यक्ष पोख्रेलले उल्लेख गरे।

कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवर्द्धन हुने बताए। उनले दूताबासमा चिया, कफी लगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved