मनसुनी वर्षा कहिलेसम्म ?

नेपालभ्युज

मनसुनी वर्षा कहिलेसम्म ?
सांकेतिक तश्वीर

काठमाडौं । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए ।

आज काठमाडौँ उपत्यकासहित देशका कतिपय स्थानमा वर्षा भएको छ । पछिल्लो एक घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिए ।

उनका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा यस वर्ष गत जेठ ३१ गते (जुन १४ तारिख, सन् २०२३) बाट मनसुन प्रवेश गरेको थियो । आगामी असोज १५ गते (अक्टोबर २ तारिख) सम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ । नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भएपनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved