एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल

नेपालभ्युज

एमाले आफैँ समाप्त भएर जान्छः माधवकुमार नेपाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गरेका हुन् । पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे ।

उनले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताए ।

‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन ती व्यक्तिहरु जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरु आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्’ अध्यक्ष नेपालले भने,  ‘तपाईहरु देखिरहनुभएको छ, सिंगै देशमा हाम्रो पार्टी आफ्नै गतिविधिका साथ अगाडि बढिरहेको छ । संगठन निर्माणको अभियानमा जुटेको छ र समाजवादी मोर्चा बनाउँदै सारा देशमा समाजवादको झण्डा बुलन्द गर्दै अगाडि बढिरहेको छ ।’

उनले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved