विदेश जानेका मार्मिक कथा : ड्राइभरको लागि भन्दै साउदी लगेर कुकुर मार्ने अपराधमा (भिडिओ)

नेपाली युवालाई कुकुर मार्ने काम निकै पीडादायी लाग्यो। दिनभरिमा यति कुकुर मारियो र यति बिराला समातियो भन्दै साँझ कम्पनीलाई रेकर्डका लागि जानकारी दिनुपर्थ्यो। त्यसपछि मात्र मारिएका कुकुरलाई ‘डम्पिङ एरियामा’ लगेर फाल्नुपर्थ्यो।

विदेश जानेका मार्मिक कथा : ड्राइभरको लागि भन्दै साउदी लगेर कुकुर मार्ने अपराधमा (भिडिओ)

काठमाडौं। विमानस्थलमा दैनिक विदेश जानेहरू झन्डै १५ सयको हाराहारीमा हुने गर्छन्। गत २४ माघमा पनि त्यस्तै भीड थियो।

त्यही भीडमा सिन्धुली, चितवन, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुरलगायत जिल्लाका १५ जना युवा पनि थिए। जो मनभरि पीर, मस्तिष्कमा परिवारको याद र झोलामा राहदानी अनि थुप्रै सपना बोकेर साउदीको रियाद उडे।

किङ खालिन् इन्टरनेसनल एअरपोर्टमा ‘रिकन्स्ट्रक्सन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट कम्पनी’का प्रतिनिधि लिन आइसकेका थिए। ८० देखि एक सयको स्पिडमा गाडी हुइँकिँदै गन्तव्य लागे।

कहिले मरुभूमिजस्तो ठाउँ र कहिले ठूलो सहरको बाटो हुँदै गाडी अघि बढ्दै थियो। नयाँ ठाउँको रमणीय परिवेशले भर्खरै विदेशी भूमि टेकेका नेपाली युवाको मनको पीर केही कम भयो।

आशिकर हेरिटेज गाउँ। (फोटो/Saudi Tourism)

सफा र फराकिलो सडक, अग्ला भवनको सुन्दरताले उनीहरूको दु:खी मनलाई सिटामोलको काम गर्‍यो। केहीबेरमा काम गर्नुपर्ने कम्पनीको होस्टलमा पुगे।

‘‘आज आप आराम करें। काम कल सुबहसे सुरू हो जाना चाहिए’’ एक जना अरबीले हिन्दीमा आदेश दियो। नेपाली युवा टाढाको यात्राले थाकेका थिए। ज्यानलाई बिसाउँदै आराम गरे। भोलिपल्ट बिहानैबाट काममा जानुपर्ने भनिएको थियो।

०००

युवा भोलिपल्ट बिहानै उठेर कामको लागि तयार भए। नयाँ ठाउँ, नयाँ कामका लागि उत्साहित थिए। नयाँ मान्छे अनि बिलकुलै नयाँ भाषाको कारण सुरुमा थोरै असजिलो होला भन्ने कल्पना गरेका थिए। तैपनि, रोचक अनि कौतुहलता उनीहरूको मनमा थियो। बिहानै कामको लागि सबैजना तयार भए।

उनीहरू त्यसबेला छाँगाबाट खसेजस्तै भए, जब म्यानेजर आएर कामको निर्देशन दिए। ‘‘सडक पर चलो, कुत्ते को देखते ही मार डालो। हर किसी को मारना। चाहे वह बड़ा कुत्ता हो या छोटा बच्चा। गाड़ीमें रख कर ले आओ’’ म्यानेजरले अह्राउँदै भने।

जबरजस्ती कुकुर मार्ने काममा लगाइएका नेपालीले नचाहेरै मारेका कुकुरका बच्चाहरू

उनीहरूलाई सडकमा गएर कुकुर मारेर ल्याउन भनियो। तर, उनीहरूलाई त साना गाडी चलाउने ड्राइभरको लागि भनेर लगिएको थियो। आफूलाई साउदी ल्याउने ‘टार्गेट एचआर सोलुसन मेनपावर’ले भनेको सर्त सुनाउँदै युवाहरूले म्यानेजरलाई भने, ‘‘हम यहाँ केवल ड्राइभिङके लिए हैं। हम कुत्तों को मारनेका अपराध नहीं कर सकते।’’

म्यानेजरले रिसाउँदै भने, ‘‘जब आपको साउदी अरब लाया जाएगा तो इस् कम्पनीद्वारा तुमको दिए गए पैसेका भुगतान कौन करेगा ? या पैसे दो ? नहीं तो चुपचाप काम करो।’’

यस्तो धम्की आएपछि नेपाली युवा चुपचाप भनिएकै काममा सहमति जनाउन बाध्य भए। उनीहरूले सहर बजारका सडकमा रहेका भुस्याहा कुकुर मार्नुपर्ने भयो।

उद्धारको प्रतीक्षामा रहेका नेपालीहरू

‘‘कुकुर समाउन जाली लिइयो। औषधि प्रयोग गरेर मार्नको लागि एउटा पाइपजस्तै साधन दिइयो। त्यसमा मेडिसिन लोड गर्ने र छर्किने भनियो। साना बच्चालाई चाहिँ सुई लगाएर मार्ने भनियो। अनि मरेपछि गाडीमा हालेर ल्याउने भनियो। बिरालोचाहिँ जालमा हालेर छोप्ने हो। जिउँदै ल्याउने भनियो’’ नेपाली युवाले नेपाल भ्युजसँग भने ‘‘कुकुर र बिरालो त कति हो कति। मार्नै नसकिने। मनले नमाने पनि काम गर्न बाध्य भयौँ।’’

नेपाली युवालाई कुकुर मार्ने काम निकै पीडादायी लाग्यो। दिनभरिमा यति कुकुर मारियो र यति बिराला समातियो भन्दै साँझ कम्पनीलाई रेकर्डका लागि जानकारी दिनुपर्थ्यो। त्यसपछि मात्र मारिएका कुकुरलाई ‘डम्पिङ एरियामा’ लगेर फाल्नुपर्थ्यो।

उनीहरूका अनुसार एउटा गाडीमा चार जनाको टिम खटाइन्थ्यो। उनीहरू भन्छन्, ‘‘एउटा गाडीमा चालकसहित चार जनाको समूह हुन्थ्यो। सबैले मिलेर समाएर मार्ने हो। तर, हाम्रो गाडी देख्नासाथ कुकुरहरू धेरै टाढा भाग्थे। बच्चा पाएका कुकुर त्यति भाग्दैन थिए। स-साना बच्चालाई मार्नुपर्दा हात काँप्थ्यो। आँखाबाट आँसु आउँथ्यो।’’

साउदीका मानिसले कुकुर मन पराउँदैनन्। कुकुर नजिक देखिएमा स्थानीय नगर प्रशासनलाई मार्न आउन बोलाउँछन्। तीन-तीन महिनामा कुकुरले बच्चा जन्माउने हुँदा सङ्ख्या बढेको कारण त्यहाँका नगरपालिकाले तिनलाई मार्न आदेश दिने गरेको छ।

भिडिओ-

विना तलब सात महिनादेखि

विदेश पठाउने कम्पनी ‘टार्गेट एचआर सोलुसन मेनपावर’ले पहिल्यै भनेको थियो ‘खानको लागि पैसा कम्पनीले अग्रिम दिन्छ। जानेबित्तिकै पाइन्छ।’ तर, नेपाली युवालाई खानको लागि अग्रिम पैसा दिइएन। त्यहाँ भेटिएका पुराना नेपाली साथीबाट सरसापटी लिएर काम चलाउँदै आए।

हप्तौँसम्म न कुनै तलब पाए न एडभान्स नै। खानको लागि समस्या भयो। ‘‘सर, वी ह्याभ नो मनी फर फुड। प्लिज गिभ मी फिउ एडभान्स’’ म्यानेजरसँग पटक-पटक याचना गर्थे।

भिख दिएको शैलीमा ५० रियाल दिँदै म्यानेजरले भन्यो ‘‘इसे एक महिने तक चलने दो।’’

‘‘गएको केही सातामा पहिलोपटक बल्ल बल्ल ५० रियाल, त्यो पनि १५ जनाको लागि पायौँ। अझै महिना दिनसम्मको लागि भन्दै। त्यतिले कति खानुजस्तो भयो’’ एक नेपाली भन्छन्।

दैनिक ८ घण्टा काम गरेबापत मासिक १५ सय साउदी रियाल पारिश्रमिक दिने सहमति गरिएको थियो। थप दुई घण्टा गरे महिनाको १८ सय रियालसम्म हुने भनिएको थिए। तर, कम्पनीले तलबै दिएन।

उनीहरूले धेरै प्रतिवाद गर्न पनि सक्दैनथे। किनकि पराईको देश थियो। उनीहरू त्यही काम गर्न बाध्य भए। खान पनि पैसा नदिएपछि कयौँ रात पानी मात्र खाएर भोकै सुतेको उनीहरू सुनाउँछन्।

मारिएको कुकुर बोक्न प्रयोग गरिने गाडी

‘‘बिरामी भए पनि काममा जानुपर्ने थियो। अपमान झेल्नुपर्ने थियो’’ उनीहरू भन्छन्, ‘‘नेपालमा बिरामी हुँदा खानुपर्छ, खाऊ भन्थे, यहाँ त पराईको देश बिरामी हुँदा मरे मर् भन्दा रैछन्। मर्‍यो भने बाकसमा लास पठाइदिउँला भन्दा रहेछन्।’’

केही समय काम गरेपछि नेपाली युवाले काम गर्न नसक्ने बताए। सुपरभाइजरले ‘‘तिमीहरूलाई यता ल्याउँदा म्यानपावरलाई कम्पनीले दिएको पैसा कसले तिर्छ ?’’ भन्दै हप्काए।

अहिले पनि उनीहरू स्वदेश फर्कन चाहन्छन्। कम्पनीले १५ जना नेपाली युवालाई बिनातलब काम गराइरहेको छ। काम गरेको ७ महिना भए पनि तीन महिनाको मात्रै तलब दिइएको उनीहरूले बताएका छन्।

बल्लबल्ल फर्किए सात नेपाली

पछिल्लोपटक पनि २५ जेठ २०८० मा फेरि सात जना नेपालीलाई सोही मेनपावर कम्पनी ‘टार्गेट एचआर सोलुसन’ले त्यही काममा साउदी लग्यो, सवारी चालकको काम गर्ने भन्दै।

उनीहरूले १ लाख ८० हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्म म्यानपावरलाई तिरेका थिए। तर, साउदी पुगेपछि उनीहरूलाई पनि सम्झौताविपरीत कुकुर मार्ने र बिरालो समाउने काममा लगाइयो।

‘‘सम्झौताविपरीत काममा लगाइयो। पाइपमा औषधी राखेर मार्नुपर्ने थियो। साना बच्चालाई सुई लगाएपछि १५, २० सेकेन्डमा मर्थ्यो’’ स्वदेश फर्किएका राजाराम स्याङ्तान भन्छन् ‘‘ठूला कुकुर पनि आधा मिनेटमै मर्थ्यो। दैनिक एक टोलीले सात-आठ वटा कुकुर माथ्यौँ। धेरैजसो साना बच्चा मारिँदा १७, १८ वटासम्म पुग्थ्यो।’’

केही सातापछि उनीहरूले यस्तो काम गरिरहन नसक्ने बताए। नेपाल फर्कने अडान लिएपछि केही दिन बन्धक बनाएर राखियो।

‘‘कुटपिट गर्ने, खान नदिने, गाली गर्ने, धम्क्याउने, लछारपछार गर्ने गरेर राखे। जसरी पनि कम गर्नैपर्ने भने। हामीले हुँदैन, सक्दै सक्दैनौँ भनेपछि बल्लतल्ल नेपाल आउन अनुमति दिए’’ मकवानपुर थाहा ११ का रामकृष्ण वाइबाले पीडा सुनाए।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आकाशमा उड्दा देखेका स्वर्णिम सपनालाई साउदी अरबको विमानस्थलमा १ महिना १३ दिनमै तिलाञ्जलि दिएर उनीहरू स्वदेश फर्किए।

उनीहरू जुन सपना देखेर विदेश गएका थिए त्यो सपना मरिसकेपछि फर्किनुको विकल्प थिएन। ‘‘कहिले भोकै त कहिले एक छाक मात्र खान दिन्थ्यो। पानीले तिर्खा मेटिन्थ्यो, भोक मेटिन्थेन। साउदी पुगेको डेढ महिनामै ज्यानमा हाड छाला मात्र देखिन थालिसकेको थियो। त्यसरी बस्न नसक्ने लागेपछि नेपाल फर्कयौँ’’ काभ्रेका सुमन विक वैदेशिक रोजगारीको बिर्सनलायक पीडा सुनाउँछन्।

स्वदेश फर्किने ७ जनामा काभ्रेका सुमन विक, मकवानपुर थाहा ११ का रामकृष्ण वाइबा, समीर पूर्व लामिछाने मगर, राजाराम स्याङ्तान, अशोक मोहरा, राजकुमार राजवंशी र सागर गुप्ता छन्। गत २४ माघमा गएका १५ जना उद्धारको पर्खाइमा छन्।

स्वदेश फर्कन याचना गरिरहेकाहरूमा रोल्पाका दीपक विक, खाेटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवलपरासी शिव प्रताव मिश्र, खोटाङ भरत मगर, रामेछापका साजनकुमार मोक्तान छन्।

यस्तै, सिराहा विजय कुमार महतो, काठमाडौंका मनकुमार तामाङ, धरानका पेमा शेर्पा, काठमाडौं बाबु काजी, तनहुँका सुजन आर्चाय, बर्दिवासका समीर मगरलगायत छन्। स्वदेश फर्कने दिन चाँडै आउने आशामा उनीहरु बसिरहेका छन्।

वैदेशिक रोजगार विभागले यसघटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। महानिर्देशक मदन दाहाल भन्छन्, ‘‘एउटा कामको लागि भनेर विदेश लगेर अर्को काममा पठाउने मेनपावर कम्पनीलाई कारबाही हुन्छ।’’ यो विषयमा बुझ्न  खोज्दा मेनपावर सञ्चालक दीपक बस्नेतसँग सम्पर्क हुन सकेन।

किन मारिन्छ साउदीमा कुकुर ?

साउदी अरब मुस्लिम (इस्लामिक) देश हो। इस्लामिक देशमा धर्म अनुसारकै कानुन (शरिया )हुन्छ। शरियाको व्याख्या अनुसार, कुकुरहरू अछुत र अशुद्ध हुन्छन्।

सडकमा रहेका कुकुरलाई भने सरकारले मार्ने गर्छ। त्यहाँको नियमअनुसार कुकुरको भूमिका सिकार गर्न र रेखदेख गर्ने मात्र हो। त्यो पनि अनुमति  (लाइसेन्स ) लिएर केहीले पाल्ने गर्छन्। उनीहरूलाई भने मारिँदैन।

बिरालोलाई भने इस्लाममा सबैभन्दा पवित्र जनावरको रूपमा हेरिन्छ, नेपालमा गाई भनिएजस्तै। त्यहाँ बिरालोको प्रशंसा गरिन्छ।

तिनीहरू धार्मिकरूपमा सफा मानिन्छन्। त्यसैले, उनीहरूलाई घर र मस्जिदमा पनि प्रवेश गर्न अनुमति दिइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved